|
1,128 SHARES |
नयाँ दिल्ली । भारतको संसद्को मनसुन अधिवेशन जारी रहेका बेला संसद् भवन बाहिर भएको प्रदर्शनका कारण प्रधानमन्त्री नरेन्द्र मोदी कडा सुरक्षा व्यवस्थाबीच संसद् परिसरबाट बाहिरिनुभएको छ।
मेडिकल प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै युवाहरूले प्रदर्शन गरेपछि संसद् परिसर तथा राजधानी नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रदर्शनकारीहरू संसद् भवनतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको बताइएको छ। सो क्रममा ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपकेलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य केही प्रदर्शनकारीलाई पनि पक्राउ गरिएको छ।
प्रहरीले प्रदर्शनकारीलाई जन्तरमन्तर क्षेत्रमै रोक्ने प्रयास गरे पनि उनीहरूले सुरक्षा ब्यारिकेट तोडेर संसद्तर्फ अघि बढेका थिए। शिक्षामन्त्रीको राजीनामा माग गर्दै अभियन्ता सोनम वाङचुक तीन सातादेखि अनशनमा रहेका छन्। अनशनकै क्रममा उहाँलाई जुलाई १८ मा जन्तरमन्तरबाट नियन्त्रणमा लिएर अस्पताल लगिएको थियो।
शान्तिपूर्ण आन्दोलनमा सरकारी हस्तक्षेप भएको आरोप लगाउँदै वाङचुकको समर्थनमा हजारौँ युवा आइतबार रातभर जन्तरमन्तरमा भेला भएका थिए।
यसैबीच संसद्तर्फको मार्चका क्रममा जारी तनावबीच सीजेपीका प्रतिनिधिमण्डलले सोमबार केन्द्रीय मन्त्री जेपी नड्डासँग भेट गरी तीन बुँदे मागपत्र बुझाएको छ। पार्टीका प्रवक्ता आशुतोष रांकाका अनुसार सरकारको पहलमा नड्डाको निवासमा करिब १० मिनेट छलफल भएको थियो।
प्रतिनिधिमण्डलले सोनम वाङचुकको तत्काल रिहाइ, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा तथा नीट परीक्षा प्रकरणसँग सम्बन्धित आत्महत्या गरेका सबै परीक्षार्थीका परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।
भेटवार्ताका क्रममा मन्त्री नड्डाले प्रस्तुत मागबारे सरकार र पार्टी नेतृत्वसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ। -एजेन्सी










