जनविकास माविद्वारा पहिलोपटक जग्गादाता तथा संस्थापक सम्मान

झापा । झापाको बाह्रदशी गाउँपालिका–४ स्थित जनविकास माध्यमिक विद्यालयले स्थापना भएको ७२ वर्षपछि पहिलोपटक जग्गादाता तथा संस्थापक सम्मान कार्यक्रम आयोजना गरेको छ। २०११ सालमा स्थापना भएको विद्यालयले विशेष समारोहबीच संस्थापक र जग्गादाताको योगदानको कदर गर्दै सम्मान गरेको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष समिर मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाह्रदशी गाउँपालिका–४ का वडाध्यक्ष महताव आलम प्रमुख अतिथि रहनुभएको थियो।

विज्ञापन

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव पोख्रेलले विद्यालयको शैक्षिक सुधारबारे जानकारी दिँदै २०८० सालको एसईई परीक्षामा शून्य नतिजा आएको विद्यालयले २०८१ सालमा ५।२६ प्रतिशत र २०८२ सालमा २८।५७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको बताउनुभयो। आगामी वर्ष ५६ प्रतिशत नतिजा हासिल गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो।

विज्ञापन

हाल विद्यालयमा ५५६ विद्यार्थी अध्ययनरत रहेको उल्लेख गर्दै प्रधानाध्यापक पोख्रेलले वडा नम्बर–४ को एकमात्र सामुदायिक विद्यालयमा करिब ९५ प्रतिशत विद्यार्थी मुस्लिम समुदायका रहेको बताउनुभयो। आगामी पाँच वर्षभित्र विद्यालयलाई गाउँपालिकाकै उत्कृष्ट विद्यालय बनाउने, प्रविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा जग्गादाता तथा संस्थापकहरूलाई मरणोपरान्त सम्मान गर्दै उहाँहरूका परिवारलाई सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो।

मरणोपरान्त सम्मानित हुने जग्गादातामा स्वर्गीय बुल्ला मियाँ, स्वर्गीय लक्ष्मीदेवी गणेश, स्वर्गीय लिला गणेश, स्वर्गीय कालीप्रसाद गणेश तथा संस्थापक प्रधानाध्यापक स्वर्गीय प्रेमानन्द गोस्वामी रहनुभएको थियो। साथै जीवित जग्गादाता रेनुका देवी गनगाई र ठण्डाकुमारी गणेशलाई पनि सम्मान गरिएको थियो।

यसैगरी, गत एसईईमा उत्कृष्ट नतिजा ल्याउने अफ्रिम निसा तथा कक्षा–८ मा उत्कृष्ट नतिजा ल्याउने जानकी शर्मालाई नगदसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमकै अवसरमा विद्यालयका जग्गादाता तथा संस्थापकहरूको नामावली अंकित शिलालेख अनावरण गरिएको थियो भने उहाँहरूको तस्बिर विद्यालयको कार्यालयमा राखिएको छ। मुस्लिम समुदायका छात्राहरूले मौलिक पोशाकमा सांस्कृतिक प्रस्तुति पनि दिएका थिए।

समारोहमा समाजसेवी सोमनाथ बजगाई, नेपाल रेडक्रसका ओमप्रकाश गौतम, शिक्षा शाखा प्रमुख गीता देवी सुवेदी, स्थानीय सूर्यनारायण गणेश, सम्मानित परिवारका तर्फबाट दयानन्द गोस्वामी, संविधानसभा सदस्य हरिबहादुर राजवंशी तथा वडाध्यक्ष महताव आलमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले २०११ सालमा स्थापना भएको विद्यालयले पहिलोपटक यस्तो सम्मान कार्यक्रम आयोजना गरेकोमा प्रधानाध्यापक शिव पोख्रेलको प्रशंसा गर्दै विद्यालयको सम्पूर्ण जग्गाको अभिलेखीकरण गरी जग्गादाताहरूको पूर्ण पहिचान गर्न सुझाव दिएका थिए। साथै गाउँपालिकाले हालै गरेको नयाँ प्रधानाध्यापक नियुक्तिका कारण प्रधानाध्यापक पोख्रेल अन्यत्र सरुवा हुने अवस्था सिर्जना भएकाले उहाँलाई काजमा भए पनि यही विद्यालयमा निरन्तर काम गर्ने वातावरण मिलाइदिन गाउँपालिकासँग आग्रह गरेका थिए।

कार्यक्रममा शिक्षिका धनमाया नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन शिक्षक टीका गणेशले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय