|
947 SHARES |
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरे बजारबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक स्थानीय युवकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिश्चरे बजारको सब्जी लाइन क्षेत्रमा शनिबार दिउँसो करिब ३ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त टोलीले ४१ वर्षीय सरोज गहतराजलाई पक्राउ गरेको हो।
लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी शनिश्चरेका इन्चार्ज प्रहरी नायव निरीक्षक प्रमोद रेग्मीको नेतृत्वमा तथा लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले निगरानी बढाएको थियो।
सो क्रममा बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा.५७ प ७७३३ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी खानतलासी गर्दा गहतराजको साथबाट प्लास्टिकबाहेक २३ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, उनको साथबाट ३० थान एनटेन ट्याब्लेट, दुई थान मोबाइल फोन तथा प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
प्रहरीले पक्राउ परेका गहतराजविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।










