|
893 SHARES |
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम उल्लंघन जारी रहे अमेरिकाले थप सैन्य कारबाही गर्न सक्ने चेतावनी दिँदै त्यसो भए इरानको अस्तित्व नै संकटमा पर्न सक्ने बताएका छन्।
ट्रम्पको यो प्रतिक्रिया अमेरिकाले इरानमाथि गरेको पछिल्लो सैन्य आक्रमणपछि आएको हो। अमेरिकी पक्षका अनुसार पानामाको झण्डा बोकेको एक तेल ट्यांकरलाई इरानले निशाना बनाएपछि त्यसको जवाफस्वरूप इरानका विभिन्न सैन्य संरचनामाथि आक्रमण गरिएको हो।
सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले युद्धविराम सम्झौता पुनः उल्लंघन भएपछि अमेरिकी लडाकु विमानहरूले इरानका मिसाइल तथा ड्रोन भण्डारण केन्द्र र राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेको बताएका छन्।
उनले लेखेका छन्, ‘युद्धविराम सम्झौता पुनः उल्लंघन भएपछि अमेरिकी लडाकु विमानहरूले इरानका मिसाइल र ड्रोन भण्डारण केन्द्र तथा राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेका छन्।’
ट्रम्पले इरानले आफ्नो व्यवहार परिवर्तन नगरे अमेरिकाले थप कडा कदम चाल्न सक्ने संकेत पनि दिएका छन्। उनले भनेका छन्, ‘उनीहरूले कहिल्यै पाठ नसिक्ने सम्भावना पनि पूर्ण रूपमा छ। यस्तो समय आउन सक्छ, जब हामी संयम अपनाउने अवस्थामा रहने छैनौँ र हामीले सफलतापूर्वक सुरु गरेको कामलाई सैन्य बल प्रयोग गरेर पूरा गर्न बाध्य हुन सक्छौँ।’
युद्धविरामको निरन्तर उल्लंघन भए अमेरिकाले थप सैन्य हस्तक्षेप गर्न सक्ने उल्लेख गर्दै ट्रम्पले चेतावनी दिएका छन्, ‘यदि त्यस्तो अवस्था आयो भने इस्लामिक गणतन्त्र इरानको अस्तित्व रहने छैन।’









