झापा । शिवसताक्षी नगरपालिका का नगर प्रवक्ता तथा वडा नं. ११ का अध्यक्ष बहादुर आङ्बो ले नगर प्रवक्ता पदबाट राजीनामा दिएका छन्।
नगर प्रमुख मेगाहाङ थोप्रा ले दिएको जिम्मेवारी अपेक्षाअनुसार पूरा गर्न नसकेको भन्दै नैतिक जिम्मेवारी स्वीकार गरी आङ्बोले १८औँ नगरसभाका क्रममा नगर प्रमुखसमक्ष राजीनामा बुझाएका हुन्।
आङ्बोलाई नगर प्रमुख थोप्राले नगरपालिकाको प्रवक्ताको जिम्मेवारी दिएका थिए। राजीनामापछि सञ्चारकर्मीहरूले प्रतिक्रिया लिन खोजे पनि उनले यस विषयमा तत्काल कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन्। उनले राजीनामाको कारणबारे विस्तृत धारणा सार्वजनिक गरेका छैनन्।
नगरपालिकाका अन्य वडा अध्यक्षहरूले भने आङ्बोले नगर प्रवक्ता पदबाट राजीनामा दिएको पुष्टि गरेका छन्। शिवसताक्षी नगरपालिकामा नगर प्रमुख थोप्रा र वडा अध्यक्ष आङ्बो दुवै नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन्।
आङ्बो यसअघि पनि विभिन्न विषयमा विवादमा तानिएका थिए। केही समयअघि राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय ले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गा व्यक्तिको नाममा रहेको भन्दै गरिएको सिफारिस प्रकरणमा उनको भूमिकालाई लिएर आलोचना भएको थियो।
नगर प्रवक्ताको जिम्मेवारीबाट आङ्बोले राजीनामा दिएसँगै अब उक्त पदमा कसलाई जिम्मेवारी दिइने भन्ने विषयमा नगरपालिकाले कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन। त्यस्तै, नगर प्रमुखले उनको राजीनामा स्वीकृत गरेका छन् वा छैनन् भन्नेबारे पनि आधिकारिक जानकारी आउन बाँकी छ। नगर प्रमुख थोप्राले समेत यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।










