|
695 SHARES |
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८९ करोड ८५ लाख २५ हजार रुपैयाँ बराबरको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
बुधबार सम्पन्न नगरसभाको १९औँ नियमित अधिवेशनमा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले ‘पूर्वाधारको विकास, गरिबीको अन्त्य–समृद्ध अर्जुनधारा सबैको गन्तव्य’ भन्ने मूल नारासहित बजेट वक्तव्य प्रस्तुत गर्नुभयो।
सार्वजनिक बजेटअनुसार पूर्वाधार विकास क्षेत्रमा सबैभन्दा बढी १० करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, वडास्तरीय कार्यक्रमका लागि ९ करोड ९० लाख, सामाजिक विकासतर्फ ५ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ४४ लाख, संस्थागत विकास तथा सुशासनमा १ करोड २९ लाख तथा आर्थिक विकासतर्फ १ करोड ११ लाख रुपैयाँ छुट्याइएको छ। प्रशासनिक खर्चका लागि १७ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ।
राजस्व स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १७ करोड २५ लाख, राजस्व बाँडफाँड १४ करोड ४७ लाख तथा सशर्त अनुदान ३४ करोड ३५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। कोशी प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ १ करोड ६० लाख २३ हजार र राजस्व बाँडफाँडबाट १ करोड ७३ लाख ७७ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। नगरपालिकाले आन्तरिक राजस्वबाट ७ करोड ५० लाख, मालपोत रजिष्ट्रेसनबाट ५ करोड तथा जनसहभागिताबाट २ करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
उपप्रमुख पराजुलीले चालु आर्थिक वर्षको समीक्षा गर्दै ९८ करोड ९९ लाख रुपैयाँको बजेटमध्ये हालसम्म ६७ प्रतिशत खर्च भइसकेको र असार मसान्तसम्ममा खर्च प्रगति ८५ प्रतिशत पुग्ने अनुमान गरिएको बताउनुभयो। गत वर्षको आन्दोलनका क्रममा नगर कार्यपालिका तथा वडा कार्यालयहरूमा भएको आगजनी र तोडफोडबाट १६ करोड रुपैयाँभन्दा बढी क्षति भए पनि सेवा प्रवाहलाई छिट्टै नियमित बनाइएको उहाँको भनाइ थियो।

आगामी वर्षका प्रमुख कार्यक्रमहरूमा रैथाने बाली संरक्षण, साना किसानलाई प्रविधि हस्तान्तरण, प्रदेशकै नमुना पशु अस्पताल सञ्चालन, स्थानीय पाठ्यपुस्तक ‘हाम्रो अर्जुनधारा’को पठनपाठन, सामुदायिक विद्यालयमा डिजिटल हाजिरी, विपन्न परिवारको आवास मर्मत, अटिजम केयर सेन्टर स्थापना तथा ज्येष्ठ नागरिकका लागि वडास्तरमै निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम समावेश छन्।
नगरपालिकाले सूचना प्रविधिमार्फत डिजिटल सुशासनलाई संस्थागत गर्ने, जग्गा अतिक्रमण नियन्त्रण गर्ने तथा भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ।
नगरसभाका सभाध्यक्ष तथा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले अधिवेशन असार १२ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभएको छ।
वार्षिक बजेट नीति पुरा विबरण पढ्नुहाेस्









