एसईईमा उत्कृष्ट नतिजा ल्याउने शिवशताक्षीका ‘टप टेन’ विद्यार्थीलाई वडा नम्बर ६ को सम्मान



693 SHARES

झापा । शिवशताक्षी नगरपालिका–६ ले पहिलो पटक नगरभरिका एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ। वडाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उच्च जीपीए प्राप्त गरी नगरको ‘टप टेन’ सूचीमा परेका विद्यार्थीको मेहनत, लगनशीलता र शैक्षिक उपलब्धिको कदर गर्दै सम्मान गरेको हो।

सम्मानित हुनेमा भानु माध्यमिक विद्यालय पाराबारीका मञ्जिल नेपाल (४ जीपीए), भानु माध्यमिक विद्यालय लालझोडाकी कञ्चन काफ्ले (४ जीपीए), रेड रोज विद्यालयका आभाष तिम्सिना (३.९६ जीपीए), भानु माध्यमिक विद्यालय लालझोडाकी सर्वदा बोहोरा (३.९६ जीपीए), भगवती माध्यमिक विद्यालय व्याङडाडाका सार्थक बाबु दाहाल (३.९५ जीपीए), चेतना माध्यमिक विद्यालयकी कृषा चोङ्वाङ (३.९२ जीपीए), धरमपुर प्रज्ञा पाठशालाकी निर्जना बस्नेत (३.९२ जीपीए), चेतना माध्यमिक विद्यालयका दिक्षित दुलाल (३.९१ जीपीए), चेतना माध्यमिक विद्यालयकी गरिमा दुलाल (३.९१ जीपीए) तथा भगवती माध्यमिक विद्यालयकी प्रेशिका खनाल (३.९१ जीपीए) रहेका छन्।


वडा कार्यालयले सम्मानपत्र, खादा र अविरसहित विद्यार्थीलाई सम्मान गरेको थियो। कार्यक्रममा वडा नम्बर ३ का उज्ज्वल ज्योति बाल क्लबका अध्यक्ष पवन दाहाललाई बाल सहभागिता र नेतृत्व विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो।

विज्ञापन

कार्यक्रममा बोल्दै ४ जीपीए प्राप्तकर्ता मञ्जिल नेपालले विद्यालयको प्रभावकारी पठनपाठन, शिक्षकहरूको निरन्तर मेहनत, अभिभावकको साथ र आफ्नो नियमित अध्ययनका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए। उनले कक्षा ११ र १२ मा दमक बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय अध्ययन गरी भविष्यमा कानुन विषयमा उच्च शिक्षा हासिल गर्ने लक्ष्य रहेको जानकारी दिए।

अर्की ४ जीपीए प्राप्तकर्ता कञ्चन काफ्लेले पनि व्यवस्थापन संकायमा अध्ययनलाई निरन्तरता दिने योजना सुनाइन्। सम्मानित विद्यार्थीहरूले यस्तो सम्मानले थप मेहनत गर्न प्रेरणा र उत्साह मिलेको प्रतिक्रिया दिएका थिए।

भानु माध्यमिक विद्यालय लालझोडाका प्रधानाध्यापक डामकुमार कुँवर तथा भगवती माध्यमिक विद्यालय व्याङडाडाका प्रधानाध्यापक रमेश दाहालले नगरका उत्कृष्ट विद्यार्थीलाई वडास्तरमै सम्मान गरिनु सकारात्मक अभ्यास भएको बताए। उनीहरूले शिक्षकको निरन्तर मार्गदर्शन, अभिभावकको सहयोग र विद्यार्थीको लगनशीलताले उत्कृष्ट नतिजा सम्भव भएको उल्लेख गर्दै वडाले गरेको सम्मानले विद्यार्थीलाई थप हौसला प्रदान गर्ने धारणा राखे।

शिवशताक्षी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका अनुसार यस वर्ष नगरका दुई सामुदायिक विद्यालयका विद्यार्थीले पहिलो पटक ४ जीपीए प्राप्त गर्दै नयाँ इतिहास रचेका छन्। सामुदायिक विद्यालयबाट प्राप्त यो उपलब्धिले नगरको शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण सन्देश दिएको शाखाको भनाइ छ।

वडा अध्यक्ष मनोज खुलाल कार्कीले नगरभरिका उत्कृष्ट १० विद्यार्थीलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताउँदै सम्मानको उद्देश्य विद्यार्थीलाई थप हौसला दिनु, अध्ययनप्रति प्रेरित गर्नु र अन्य विद्यार्थीलाई पनि उत्कृष्ट नतिजाका लागि प्रोत्साहित गर्नु रहेको बताए। यस्ता कार्यक्रमले विद्यालय, अभिभावक र विद्यार्थीबीच सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने विश्वास उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय