बिर्तामोड । झापाबाट प्रकाशित इजलास दैनिकले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा जिल्लाका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरेको छ।
एक दशकको प्रकाशन यात्रा पूरा गरेको अवसरमा इजलास दैनिकले विशेष स्मारिका (म्यागेजिन) प्रकाशन गरी सार्वजनिक गरेको हो। बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक बसुन्धरा खड्का, अरिदमन गण चारआलीका गणपति प्रमुख सेनानी सरोज थापा तथा अन्य अतिथिहरूले संयुक्त रूपमा स्मारिकाको विमोचन गरेका थिए।
कार्यक्रममा झापाका व्यवसायी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। इजलास दैनिकले आफ्नो दशक लामो प्रकाशन यात्रामा सहयोग, साथ र समर्थन गर्ने व्यक्ति तथा संस्थाहरूप्रति कृतज्ञता व्यक्त गर्दै सम्मान अर्पण गरेको जनाएको छ।
अवसरमा नेपाल युवा उद्यमी मञ्च झापाका प्रथम उपाध्यक्ष मिजास पोखरेल, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी तथा प्रमुख जिल्ला अधिकारी गेलालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले स्थानीय पत्रकारिताको विकास, सामाजिक सरोकारका विषयको उठान तथा जनचासोका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै इजलास दैनिकले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। उनीहरूले आगामी दिनमा पनि पत्रिकाले निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारितालाई थप सशक्त बनाउँदै लैजाने विश्वास व्यक्त गरे।

इजलास दैनिकले १० वर्षको यात्रामा स्थानीय विकास, सामाजिक उत्तरदायित्व तथा जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयहरूलाई निरन्तर प्राथमिकताका साथ प्रकाशन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि पत्रकारिताको मूल्यमान्यता र व्यावसायिक धर्मप्रति प्रतिबद्ध रहने जनाएको छ।
टाइम्स मिडिया नेटवर्कका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य इजलास दैनिकका सम्पादक प्रदीप परियारले राख्नुभएको थियो भने सञ्चालन रमेश तिवारीले गर्नुभएको थियो।









