|
684 SHARES |
काठमाडौं । साविक विजेता बागमती प्रदेशले १६ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जित्दै आफ्नो वर्चस्व कायम राखेको छ।
विभिन्न ६ खेल समावेश प्रतियोगितामा बागमती प्रदेशले २२ स्वर्ण, २१ रजत तथा १३ कांस्य पदक जित्दै लगातार उपाधि रक्षा गर्न सफल भएको हो।
विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार तथा सल्लाहकार राजु सिंहलगायतले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभयो।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा तथा बागमती प्रदेश खेलकुद विकास परिषद् र नेपालय इन्टरनेसनल प्रालिको सह–आयोजनामा सम्पन्न प्रतियोगितामा सातै प्रदेशका ६ सय ८६ खेलाडीको सहभागिता रहेको थियो।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु गरी ६ विधामा प्रतिस्पर्धा गरिएको थियो। विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बागमती प्रदेश समग्र च्याम्पियन बनेको हो।









