|
9,000 SHARES |
काठमाडौं । जेनजी आन्दोलनका अगुवा रवि किरण हमाल ले प्रधानमन्त्री बालेन्द्र शाह को हालैको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत, कूटनीतिक मर्यादाविपरीत तथा अपरिपक्व भएको टिप्पणी गर्दै उक्त भनाइ फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।
बुधबार जारी प्रेस वक्तव्यमा हमालले प्रधानमन्त्रीको अभिव्यक्तिले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको वर्षौंदेखिको पीडा र अपमानलाई थप बल्झाएको दाबी गरेका छन्। राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तासँग जोडिएका विषयमा प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको अभिव्यक्ति स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।
वक्तव्यमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै नेपाली जनतासँग माफी माग्नुपर्ने उल्लेख गरिएको छ। साथै, प्रधानमन्त्री आफ्नो भनाइमा अडिग रहने हो भने नैतिक तथा राजनीतिक जिम्मेवारी वहन गर्दै पदबाट मार्ग प्रशस्त गर्नुपर्ने धारणा पनि हमालले व्यक्त गरेका छन्।
“राष्ट्रभन्दा माथि कुनै व्यक्ति वा पद हुन सक्दैन,” वक्तव्यमा भनिएको छ, “नेपालको राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्नु हरेक जिम्मेवार नेतृत्वको दायित्व हो।”
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा बहस जारी रहे पनि प्रधानमन्त्रीको सचिवालयले यस विषयमा हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।










