|
9,000 SHARES |
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित बाह्रघरे सितोरियो कराते डोजोको आयोजनामा यही वैशाख २६ गते ‘प्रथम उपप्रमुख कप अन्तर्राष्ट्रिय आमन्त्रित कराते प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ।
स्थानीय गार्गी वाङ्मय प्रतिष्ठानको खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता स्थानीयस्तरमा कराते खेलको प्रवर्द्धन गर्दै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
झापा जिल्ला कराते महासंघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका चार सयभन्दा बढी खेलाडी सहभागी हुने डोजो व्यवस्थापन समितिका सचिव तथा प्रमुख प्रशिक्षक हेमलाल परियारले बताए।
उनका अनुसार प्रतियोगितामा पुरुष तथा महिलातर्फ समान रूपमा २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र ६५ केजीभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट डोजोलाई ट्रफी प्रदान गरिनेछ।
प्रतियोगिता सम्पन्न गर्न करिब पाँच लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। उक्त रकम वडा कार्यालय, नगरपालिकाको कार्यालय तथा विभिन्न दातासँग समन्वय गरेर जुटाइने आयोजकले जनाएको छ।
डोजो व्यवस्थापन समितिका अध्यक्ष नारदमणि नेपालको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अर्जुनधारा–८ का वडाध्यक्ष तथा एसियन कराते रेफ्री कुमारप्रसाद उप्रेती र अर्जुनधारा–९ का वडाध्यक्ष भीष्म मिश्रले प्रतियोगिता सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा अध्यक्ष नेपालले प्रतियोगिताको औचित्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन सचिव परियारले गरेका थिए।










