|
9,000 SHARES |
काँकरभिट्टा । मेचीनगर–६ स्थित काँकरभिट्टा बजारमा म्याद गुज्रिएका चिसो पेय पदार्थहरू छ्यापछ्याप्ती भेटिएका छन्। स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय झापा र प्रहरीको संयुक्त टोलीले सोमबार गरेको बजार अनुगमनका क्रममा करिब ३० कार्टुन म्याद नाघेका चिसो पेय पदार्थ फेला पारी जफत गरेको हो।
अनुगमनका क्रममा फेण्टा, कोकोकोला, स्प्राइट, किन्ले लगायतका चिसो पेय पदार्थहरू म्याद गुज्रिएको अवस्थामा बिक्रीका लागि राखिएको पाइएको थियो। साथै केही खाद्य सामग्रीमा लेबलसमेत नभएको र उपभोगका लागि अयोग्य रहेको भेटिएको थियो।
नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीका अनुसार काँकरभिट्टा बजारका कुमार कोल्ड सेन्टर, केआर कोल्ड सेन्टर, पौडेल ब्रदर्श, कृष्ण ट्रेडर्स, भट्टराई भेराइटिज, विनोद संगम किराना पसल, कञ्चन कोल्ड स्टोर र आरुस स्टोर्ससहित ९ वटा पसलमा अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा म्याद नाघेका तथा खान अयोग्य खाद्य सामग्री जफत गरी तत्काल नष्ट गरिएको कार्कीले जानकारी दिए। केही व्यवसायीलाई मौखिक रूपमा सचेत गराइएको छ भने केहीलाई तीन दिनभित्र नगरपालिका कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ।
खाद्य विश्लेषक कार्कीको नेतृत्वमा खटिएको टोलीमा जिल्ला प्रशासन कार्यालय झापाका खाद्य विश्लेषक सुवासचन्द्र वस्ती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी सहायक निरीक्षकद्वय सोनेलाल राजबंशी र टंकबहादुर श्रेष्ठ, वरिष्ठ प्रहरी हवलदार भोला ठाकुर, प्रहरी हवलदारद्वय सुनिलकुमार चौधरी र डिकबहादुर थापा, प्रहरी सहायक हवलदार तेजेन्द्र श्रेष्ठ, प्रहरी जवान नरेश राई, नगर प्रहरीहरू नरबहादुर थापा, नारायण खनाल, दिपाकुमारी राजबंशी, दिनेश राई तथा उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
केही दिनअघि प्रधानमन्त्री नेतृत्वमा रहेको हेल्लो सरकारमा स्थानीयवासीले भारतबाट भन्सार छलेर अवैध रूपमा चिसो पेय पदार्थ भित्रिरहेको, बजारमा अत्यधिक मूल्यवृद्धि भएको तथा म्याद गुज्रिएका सामान खुलेआम बिक्री भइरहेको भन्दै उजुरी दिएका थिए। सोही गुनासोपछि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले बजार अनुगमन अघि बढाएको बताइएको छ।










