आज लोकतन्त्र दिवस



9,000 SHARES

काठमाडौं । आज देशभर लोकतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवसले नेपाली जनताको संघर्ष, बलिदान र उपलब्धिलाई पुनःस्मरण गराएको छ ।

२०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाह ले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने घोषणा गरेसँगै निरङ्कुश शासनको अन्त्य भएको ऐतिहासिक दिनका रूपमा यस दिवसलाई लिइन्छ । उक्त घोषणा जनआन्दोलन २०६२–६३ को बलमा सम्भव भएको थियो, जसमा सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीसहितको व्यापक जनसहभागिता रहेको थियो ।

विज्ञापन

राजाको घोषणामा राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको स्वीकार गर्दै जनभावनाअनुसार प्रतिनिधिसभा पुनःस्थापना गरिएको उल्लेख गरिएको थियो । यससँगै वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो, जसले लोकतान्त्रिक प्रक्रियालाई पुनर्जीवित गर्‍यो ।

विज्ञापन

जनआन्दोलनको सफलतापछि देशमा राजनीतिक परिवर्तनको नयाँ चरण सुरु भयो । दुई पटक सम्पन्न संविधानसभा निर्वाचनमार्फत तयार पारिएको नेपालको संविधान २०७२ ले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित गर्दै संघीय शासन प्रणालीको अभ्यासमा प्रवेश गराएको छ ।

हाल देश संघ, प्रदेश र स्थानीय तहमा विभाजित संरचनामार्फत शासन सञ्चालन गरिरहेको छ । संघीयताको अभ्याससँगै जनताको घरदैलोमै सेवा प्रवाह पुर्‍याउने, विपद्का समयमा छिटो राहत उपलब्ध गराउने र शासनलाई नजिकबाट अनुभूति गराउने प्रयास भइरहेका छन् । यद्यपि, प्रभावकारी कार्यान्वयन, समन्वय र सुशासनका चुनौतीहरू अझै कायम रहेको सरोकारवालाहरू बताउँछन् ।

२०६५ सालदेखि प्रत्येक वर्ष वैशाख ११ गते मनाइँदै आएको लोकतन्त्र दिवसले जनताको सर्वोच्चता स्थापित गर्ने ऐतिहासिक उपलब्धिलाई मात्र होइन, लोकतान्त्रिक मूल्य, विधि र संस्कारलाई थप सुदृढ बनाउने जिम्मेवारी पनि स्मरण गराउँछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय