|
9,000 SHARES |
भद्रपुर । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता ‘चन्द्रगढी महिला गोल्डकप’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
भद्रपुरस्थित मेची रंगशाला मा आज चन्द्रगढी युवा क्लब ले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष रोहित सुब्बा का अनुसार विजेताले महिला फुटबल इतिहासकै सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
उपविजेताले नगद ५ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटल रहेको छ भने उपविजेताको पुरस्कार रकम Sajilo Net ले उपलब्ध गराउनेछ । भद्रपुर नगरपालिका तथा वडा कार्यालयहरूले पनि प्रतियोगितामा सहयोग गरेका छन् ।
अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आगामी बैशाख ५ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ‘प्लेयर अफ द म्याच’ले ११ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितामा आयोजकको एक टिमसहित नेपालका विभागीय टिमहरू त्रिभुवन आर्मी एफसी, नेपाल एपिएफ एफसी र नेपाल पुलिस क्लब सहभागी हुनेछन् । साथै चर्च ब्वाइज युनाइटेड र संकटा फुटबल क्लब का महिला टिमको सहभागिता पनि टुंगो लागेको छ ।

अन्तर्राष्ट्रिय टोलीतर्फ भारतको रानी लक्ष्मीबाई स्पोर्ट्स एकेडेमी र भुटानको थिम्पु सिटी एफसी सहभागी हुनेछन् भने बाँकी दुई टिम एसियाली मुलुकबाट आउनेछन् ।
महिला खेलाडीलाई प्रोत्साहन गर्दै झापामा महिला फुटबल विकास गर्ने, ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्ने र भविष्यमा राष्ट्रिय टोलीका लागि खेलाडी तयार पार्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई लक्षित गर्दै मेची रंगशालाको स्तरोन्नति तीव्र रूपमा भइरहेको छ । दर्शक क्षमता अभाव हुन सक्ने आँकलन गर्दै अस्थायी बाँसको प्यारापिट निर्माणसमेत भइरहेको छ ।










