बालमैत्री वडा घोषणा गर्न योग्य रहेको दमक–८ को दाबी



9,000 SHARES

दमक । झापाको दमक नगरपालिका–८ ले बालमैत्री उन्मुख वडाको सूचक प्राप्त गरेको दाबी गर्दै अनुगमन गराएको छ। जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालको नेतृत्वमा आएको टोलीले वडा–८ अन्तर्गतका जनता माध्यमिक विद्यालय र आधारभूत स्वास्थ्य केन्द्रको स्थलगत अनुगमन गरेको हो।

अनुगमन टोलीमा जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का, जिल्ला समन्वय अधिकारी अमृत राई, जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि प्रहरी निरीक्षक विपन्न विश्वकर्मा, नेपाल पत्रकार महासंघ झापाका प्रतिनिधि मनकुमार गदाल, दमक नगर बाल सञ्जालका अध्यक्ष दिवस वाग्ले तथा वडा बाल सञ्जाल दमक–८ की अध्यक्ष दिलासा संग्रौला लगायत सहभागी थिए।

विज्ञापन

टोलीले जनता माविमा बालकक्षा सञ्चालन, खानेपानी धारा तथा बालबालिकालाई दिइने दिवा खाजाको व्यवस्थाबारे जानकारी लिएको थियो। विद्यालय प्रशासनले सो सम्बन्धमा सन्तोषजनक जानकारी दिएको प्रमुख बरालले बताए। तर विद्यालयको शौचालयमा सरसफाइको अभाव देखिएको र दुर्गन्ध फैलिएको गुनासो अभिभावकले गरेका छन्। विद्यालयका अनुसार कर्मचारी कटौती भएपछि शौचालय सरसफाइमा समस्या देखिएको हो।

विज्ञापन

त्यसैगरी टोलीले दमक–८ स्थित आधारभूत स्वास्थ्य केन्द्रको पनि अनुगमन गरेको थियो। स्वास्थ्य केन्द्रमा अपाङ्गमैत्री भवन, खानेपानी धारा र शिशु विश्रामका लागि कोक्रो लगायतका संरचना रहेको वडा अध्यक्ष धर्मप्रसाद दाहाल (दीपेश) ले जानकारी दिए। भौगोलिक दूरी केही भए पनि बालबालिकालाई खोप तथा अन्य सेवा नियमित रूपमा उपलब्ध गराइँदै आएको उनले बताए।

यसअघि वडा कार्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा वडा–८ ले बालमैत्री उन्मुख वडाका ९२ दशमलव २ प्रतिशत सूचक पूरा गरेको अभिलेख प्रस्तुत गरेको बालमैत्री अभियन्ता शेषकुमार निरौलाले जानकारी दिए।

नगर प्रमुख राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरोकारवालाले राखेका जिज्ञासाको जवाफ वडा अध्यक्ष दाहालले दिएका थिए। कार्यक्रममा बालमैत्री सहभागिताबारे सकारात्मक अनुभव नगर बाल सञ्जाल अध्यक्ष दिवस वाग्ले र वडा बाल सञ्जाल अध्यक्ष दिलासा संग्रौलाले प्रस्तुत गरेका थिए।

जिल्ला समन्वय समिति झापाले आजको अनुगमन प्रतिवेदन अध्ययन गरी करिब एक साताभित्र दमक–८ लाई बालमैत्री वडा घोषणा गर्ने–नगर्ने निर्णय गर्ने प्रमुख बरालले बताए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय