|
9,000 SHARES |
झापा । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई आज विदाई गरिँदैछ।
४० कार्यदिनका लागि भर्ना गरिएको उनीहरूको सेवा अवधि आज सकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार उनीहरूलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र प्रदान गर्दै देशलाई आवश्यक परेको बेला पुनः सहयोग गर्ने प्रतिबद्धतासहित सम्मानपूर्वक विदाई गरिनेछ।
काफ्लेले निर्वाचन प्रहरीको प्रभावकारी कार्यसम्पादनका कारण निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्भव भएको बताउनुभयो। यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी एक लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल मातहत खटिने गरी १५ हजार १ सय १० गरी कुल एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो।
यस्तै सशस्त्र प्रहरी बल मातहत खटिएका निर्वाचन प्रहरीको पनि आजै विदाई कार्यक्रम राखिएको सशस्त्र प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो।
उनीहरूले पाउनुपर्ने पारिश्रमिक तथा सेवासुविधा रकम भने सम्बन्धित खातामा पठाइसकिएको जनाइएको छ। उनीहरूलाई ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट अनुसारको रासन भत्ता, यातायात भत्ता, खाजा खर्च तथा पोसाक भत्ताअन्तर्गत एकसरो कपडाको खर्च उपलब्ध गराइएको थियो।










