|
9,000 SHARES |
एजेन्सी । इरानमा सरकारविरोधी प्रदर्शन थप उग्र बन्दै गएको छ । इरानी धर्मगुरुहरूको शासन र सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको विरोधमा सुरु भएको आन्दोलन १२ दिनदेखि निरन्तर जारी रहँदै देशका ३१ वटै प्रान्तका सयभन्दा बढी सहरमा फैलिएको छ ।
राजधानी तेहरान र दोस्रो ठूलो सहर मशदमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । उनीहरूले निर्वासित पूर्व युवराज रेजा पहलवीको समर्थनमा नाराबाजी गर्दै ‘तानाशाहीको अन्त्य’को माग गरेका छन् । सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीले विभिन्न स्थानमा उग्र प्रदर्शन गरेका छन् ।
यसैबीच, विभिन्न मानवअधिकारवादी संस्थाहरूले हिंसामा परी मृत्यु हुनेको संख्या ४५ नाघेको बताएका छन् । नर्वेमा आधारित इरान ह्युमन राइट्सका अनुसार मृतकमध्ये आठ जना बालबालिका समेत रहेका छन् । इरानको अर्ध–सरकारी समाचार संस्था फार्सले भने झडपका क्रममा केही सुरक्षाकर्मीको पनि मृत्यु भएको पुष्टि गरेको छ ।
आन्दोलन नियन्त्रणमा लिन सरकारले देशभर इन्टरनेट सेवा बन्द गरेको छ । आर्थिक मन्दी, तीव्र मुद्रास्फीति र भ्रष्टाचारका कारण सुरु भएको यो प्रदर्शन सन् २०२२ पछिकै सबैभन्दा ठूलो आन्दोलन मानिएको छ ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सुरक्षा निकायलाई संयम अपनाउन निर्देशन दिनुभएको छ । उता, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदर्शनकारीमाथि हिंसा भए कडा सैन्य कदम चालिने चेतावनी दिएका छन् ।










