|
9,000 SHARES |
एजेन्सी। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी अदालतमा आफूविरुद्ध लगाइएका लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’ (लागूऔषध आतंकवाद) सम्बन्धी सबै आरोप अस्वीकार गरेका छन्।
स्थानीय समयअनुसार सोमबार न्युयोर्कको म्यानहटनस्थित संघीय अदालतमा उपस्थित गराइएका मादुरोले न्यायाधीशसमक्ष आफू निर्दोष रहेको दाबी गर्दै आफूमाथि लगाइएका आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको बताएका छन्।
अमेरिकी अभियोजकहरूले मादुरोमाथि कोलम्बियाली विद्रोही समूहसँग मिलेर अमेरिकामा कोकिन तस्करी गरेको अभियोग लगाएका छन्। सुनुवाइका क्रममा मादुरोले आफू अझै पनि भेनेजुएलाको संवैधानिक राष्ट्रप्रमुख रहेको तर्क गर्दै अमेरिकी हस्तक्षेपको कडा आलोचना गरे।
मादुरोसँगै पक्राउ परेकी उनकी पत्नी सिलिया फ्लोरेसले पनि आफूमाथि लगाइएका सबै आरोप निराधार रहेको बताएकी छन्।
दुवै पक्षको प्रारम्भिक बहसपछि अदालतले मादुरोलाई हिरासतमै राख्न आदेश दिएको छ। अदालतले अर्को सुनुवाइ आगामी मार्च १७ का लागि तोकेको छ।
यसैबीच, राजधानी काराकसमा मादुरो समर्थकहरूले उनको रिहाइको माग गर्दै प्रदर्शन जारी राखेका छन्।
सोमबार मात्रै भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिका रूपमा डेल्सी रोड्रिगेजले शपथ लिएकी छन्। उनले देशमा शान्ति कायम राख्ने र अमेरिकासँग शान्तिपूर्ण सहयोगका एजेन्डामा संवाद गर्न तयार रहेको बताएकी छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेल्सी रोड्रिगेजले मनोमानी गर्न खोजे मादुरोभन्दा पनि खराब अवस्था भोग्नुपर्ने चेतावनी दिएका थिए।










