|
9,000 SHARES |
झापा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको जनाएको छ । महाशाखाका अनुसार नेपालको मौसम प्रणालीमा स्थानीय वायुको आंशिक प्रभाव मात्र देखिएको छ ।
सोमबार कोशी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली हुने जनाइएको छ । कोशी प्रदेशका केही स्थानहरूमा, अन्य पहाडी भू–भागका थोरै स्थानहरूमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
आज राति कोशी प्रदेशसहितका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली हुने अनुमान गरिएको छ । यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ ।
मौसमविद् विनोद पोखरेलका अनुसार सोमबार मनसुन त्यति सक्रिय नदेखिने भएकाले धेरै ठाउँमा दिउँसो घमाइलो मौसम रहनेछ । मंगलबार भने काठमाडौंसहित देशका धेरै भागमा वर्षा हुने सम्भावना रहेको उनले बताए । उनका अनुसार यस हप्ताभरि कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र अर्को हप्तादेखि देशका धेरै भागमा व्यापक वर्षाको सम्भावना रहनेछ ।










