|
1,294 SHARES |
झापा । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हालसम्म ९५ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
नेपाली सेनाका चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट परिचालित फौजले बाढी प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौँ पुर्याइएको नेपाली सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी खोज तथा उद्धार कार्य जारी रहेको छ।
यसैबीच, बाढीले बगाएपछि आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बेलिब्रिज जडान गर्ने तयारी थालिएको छ। त्यसका लागि नेपाली सेनाको इन्जिनियरिङ टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
बाढीबाट प्रभावितको उद्धार तथा सुरक्षित स्थानान्तरणसँगै अवरुद्ध सडक सम्पर्क पुनःस्थापना गर्ने प्रयाससमेत अघि बढाइएको छ।










