|
1,387 SHARES |
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते॥ देवी नारायणी! तपाईं सबै मङ्गलहरूमा पनि परम मङ्गलमयी हुनुहुन्छ। तपाईं कल्याणस्वरूपा हुनुहुन्छ र सबै पुरुषार्थहरू सिद्ध गराउनुहुन्छ। तपाईं शरण दिन योग्य हुनुहुन्छ। हे तीन नेत्र भएकी गौरी! तपाईंलाई मेरो नमस्कार छ।
पितृपक्ष को समाप्ति पश्चात अत्यन्तै उल्लास र उमङ्गको पर्वका रूपमा नेपाली समाजको पर्व दशैं हो भने दशैंका सुरुका नौ दिन सारदीय नवरात्रमा पर्दछन्। यी नौवटा रातलाई नवरात्री भनिन्छ।
नवरात्रले नवीनता ल्याउँछ।
नवीन संरचना, नवीन आकर्षण, नवीन भेषभूषा, नवीन मुस्कान, नवीन खानपान, नवीन अपनत्व तथा प्रकृति र परिवारमा पनि नवीनताको ऊर्जा—यो नै शारदीय नवरात्रको अतुलनीय महत्त्व हो। यहाँ हाम्रो व्यवहारले नै दशैँ ‘हाम्रो र राम्रो’ हो भन्ने कुरा स्पष्ट पार्दछ। मातृशक्तिको पूजा सुरु गर्ने बित्तिकै परिवारको मिलन र नवीनताको उमङ्ग नै दशैँको अनुपम पक्ष हो।
विजयादशमीभन्दा पहिले नवरात्र र यसको जीवनमा रहने महत्त्वका बारेमा ग्रन्थीय आधारमा रहेर पस्कने प्रयास गरेका छौँ। शारदीय नवरात्रको पावन समय प्रारम्भ भएको छ। नवरात्र केवल पूजा, उपासना र व्रतको पर्व मात्र होइन, यो शक्ति, साधना, आत्मशुद्धि र आध्यात्मिक चेतनाको जागरण गर्ने विशिष्ट अवसर पनि हो।
साधकहरूका लागि साधनाको पवित्र समय, संयमितहरूका लागि सफलताको महत्त्वपूर्ण पक्ष र आस्थाको ऊर्जा प्राप्त गर्ने मानव समुदायका लागि यो एक सुरम्य अवसर हो। यस पावन समयमा माता दुर्गाका नौवटा स्वरूप अर्थात् नवदुर्गाको विधिपूर्वक आराधना गरिन्छ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा–आराधना गर्ने परम्परा छ। यसरी नौ दिनसम्म गरिने देवीको उपासनाले भक्तमा श्रद्धा, विश्वास, साहस, धैर्य र आत्मबलको विकास गराउँछ भन्ने विषय निसन्देह छ; तर आस्थाको स्तर नै यसको उपलब्धिको मूल आधार मानिन्छ।
नवरात्रको आरम्भदेखि समापनसम्मका आ–आफ्नै विधि, विधान र धार्मिक महत्त्व छन्। प्रत्येक दिन गरिने पूजाको आफ्नै विशिष्टता छ। तथापि, आज हामी नवरात्रमा गरिने कर्मकाण्डीय विधिभन्दा केही पर पुगेर माता दुर्गाको महात्म्य, विविध स्वरूप, ती स्वरूपको प्रयोजन र भक्तको जीवनमा देवीशक्तिको महत्त्वबारे चर्चा गर्न चाहन्छौँ।
देवीका विभिन्न नाम र स्वरूपको वर्णन केवल परिचयका लागि मात्र होइन, तिनको उत्पत्ति, प्रयोजन र आध्यात्मिक महत्त्व बुझाउनका लागि पनि गरिएको हो। मार्कण्डेय पुराणअन्तर्गत देवी महात्म्य (दुर्गासप्तशती) मा भनिएको छ:
सर्वाबाधाविनिर्मुक्तो धनधान्यसुतान्वितः।
मनुष्यो मत्प्रसादेन भविष्यति न संशयः॥
(अर्थात्: मेरो कृपाले मनुष्य सम्पूर्ण बाधाहरूबाट मुक्त भई धन, धान्य र सन्तानले युक्त हुनेछ, यसमा कुनै संशय छैन।)
जसले श्रद्धा र भक्तिपूर्वक नवरात्रको समयमा देवीको स्मरण, स्तुति र आराधना गर्दछ, उसको जीवनमा शुभता, आत्मबल र अभ्युदयको मार्ग प्रशस्त हुन्छ। देवीको आराधनाको मूल उद्देश्य बाह्य समृद्धि प्राप्त गर्नु मात्र नभई आन्तरिक विकारमाथि विजय प्राप्त गर्नु, सद्विचारको विकास गर्नु र धर्मको मार्गमा दृढ रहनु पनि हो। आफूसँग भएको सामर्थ्यलाई शास्त्रले देखाएको मार्गचित्रअनुसार प्रयोग गर्नु नै सच्चा साधना हो।
माता दुर्गाका स्वरूप, आयुध, वाहन र कर्ममा पाइने विविधता आफैँमा गहिरो अर्थ बोकेको विषय हो। यसलाई हामी आध्यात्मिक दृष्टिले मात्र होइन, मानवीय स्वभाव र सामाजिक जीवनका सन्दर्भमा पनि बुझ्न सक्छौँ। देवीले विभिन्न प्रकारका स्वरूप र भिन्नभिन्न प्रकारका वाहनहरूलाई स्वीकार गरेर मानिसको सोच अनुसारको स्वरूप हुन्छ र स्वरूप अनुसारको कर्म हुन्छ भन्ने कुरा प्रस्तुत गर्नुभएको छ।
सात्त्विक विचारमा रहेका मानिसहरूमा दैवी गुणको प्रधानता हुन्छ भने तामसी प्रवृत्तिका मानिसहरूमा आसुरी प्रवृत्ति बलियो देखिन्छ। जहाँ सद्भाव, विवेक र संवाद आवश्यक हुन्छ, त्यहाँ शान्तिपूर्ण उपाय प्रभावकारी हुन्छन्; जहाँ अन्याय, अत्याचार र आसुरी प्रवृत्तिको दमन आवश्यक हुन्छ, त्यहाँ दृढता, साहस र शक्तिको प्रयोग अपरिहार्य हुन सक्छ।
यही सन्दर्भमा माता दुर्गाका विविध स्वरूप र आयुधलाई बुझ्न सकिन्छ। देवीका विभिन्न स्वरूपले परिस्थितिअनुसार उपयुक्त शक्ति, विवेक र सामर्थ्यको प्रयोग गर्नुपर्ने सन्देश दिन्छन्। सात्त्विक विचारलाई संरक्षण गर्न र आसुरी प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यक पर्ने शक्ति एउटै प्रकारको हुँदैन।
दुर्गासप्तशतीमा चामुण्डाको वाहन प्रेत वा शव, वाराहीको वाहन महिष (राँगो), ऐन्द्रीको वाहन ऐरावत हात्ती र वैष्णवीको वाहन गरुडका रूपमा वर्णन गरिएको छ।
यसरी माता दुर्गा बाघ वा सिंहजस्ता शक्तिशाली वाहनमा आरूढ भएर विभिन्न असुरहरूको दमन गर्नुहुन्छ। माता दुर्गाका कर्महरू दुष्ट प्रवृत्तिको विनाशमा मात्र सीमित छैन; भक्तको संरक्षण, धर्मको स्थापना र सृष्टिको सन्तुलन कायम राख्नु पनि महत्त्वपूर्ण कार्यका रूपमा वर्णन गरिएको छ।
मानव जीवन अनेक प्रकारका भय, चिन्ता, सङ्कट र अनिश्चितताले घेरिएको हुन्छ। यी विविध भयबाट अभयता प्रदान गर्ने शक्ति माता दुर्गा हो। निसन्देह, माता दुर्गा आफ्ना भक्तलाई सबै प्रकारका सङ्कटबाट संरक्षण प्रदान गर्नुहुन्छ र भयमुक्त जीवनतर्फ अघि बढ्न आशीर्वाद प्रदान गर्नुहुन्छ। देवीको सर्वव्यापकताले परब्रह्म परमेश्वरहरूको असहजतालाई पनि सहज बनाएका प्रसङ्गहरू ग्रन्थमा छन्।
देवीलाई शङ्ख, चक्र, गदा, शक्ति, हल, मुसल, खेटक, तोमर, परशु, पाश, त्रिशूल र शार्ङ्ग धनुषलगायत विभिन्न अस्त्रशस्त्रले सुसज्जित रूपमा चित्रण गरिएको छ। यी अस्त्रशस्त्र केवल युद्धका साधन होइनन्; अज्ञान, अहङ्कार, भय र आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गर्ने शक्तिका प्रतीक पनि हुन्। देवीको आराधनाको वास्तविक मर्म भनेको बाह्य शत्रुमाथि विजय प्राप्त गर्ने कामना मात्र होइन, आफ्नै मनभित्र रहेका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता विकारमाथि विजय प्राप्त गर्ने सङ्कल्प पनि हो।
माता दुर्गा सम्पूर्ण प्राणीकी जननीका रूपमा पूजनीय हुनुहुन्छ। मातृत्वको यही भावले सबै प्राणीप्रति करुणा, संरक्षण र सद्भाव राख्न हामीलाई प्रेरित गर्छ। जसरी एउटी आमाले आफ्ना सन्तानको परिस्थिति र आवश्यकताअनुसार व्यवहार गर्नुहुन्छ, त्यसरी नै देवीका विविध स्वरूपलाई पनि विभिन्न परिस्थिति र प्रयोजनसँग जोडेर व्याख्या गरिएको पाइन्छ।
सन्तान कुपुत्र हुन सक्छ तर आमा कहिले पनि कुमाता हुनुहुन्न।।
विशेषतः नवरात्रको समयमा शक्तिको उपासना, दुर्गासप्तशतीको पाठ, जप, ध्यान, व्रत र पूजा–आराधनालाई विशेष महत्त्व दिइन्छ। यस अवधिलाई साधना, आत्मअनुशासन र आध्यात्मिक ऊर्जाको विकासका लागि अनुकूल समयका रूपमा लिइन्छ। नवरात्रको साधनाबाट प्राप्त हुने ऊर्जालाई केवल अलौकिक शक्तिको अपेक्षासँग मात्र जोड्नु उपयुक्त हुँदैन। यसलाई आत्मविश्वास, मानसिक स्थिरता, अनुशासन, सद्विचार र कठिन परिस्थितिसँग जुध्ने क्षमताको विकासका रूपमा पनि बुझ्न सकिन्छ।
यसैले नवरात्र हाम्रो धार्मिक परम्पराको पर्व मात्र नभई आफ्नो जीवनलाई पुनरावलोकन गर्ने, कमजोरी सुधार्ने, ज्ञानलाई नवीकरण गर्ने, असल सङ्कल्प गर्ने र सकारात्मक परिवर्तनको दिशामा अघि बढ्ने अवसर पनि हो। साँचो अर्थमा देवीको कृपा प्राप्त गर्नु भनेको आफ्नो जीवनमा सत्य, करुणा, साहस, विवेक र परोपकारजस्ता गुणहरूको विकास गर्नु हो।
माताका नौवटा नामका महत्त्वलाई निम्नानुसार ग्रहण गरी आफ्नो जीवनलाई यथेष्ट अग्रगतितर्फ डोर्याउन सकिन्छ:
शैलपुत्री: दृढता
ब्रह्मचारिणी: तपस्या र अनुशासन
चन्द्रघण्टा: साहस
कूष्माण्डा: सिर्जनात्मकता
स्कन्दमाता: मातृत्व
कात्यायनी: अन्यायविरुद्ध उभिने शक्ति
कालरात्रि: भयमाथि विजय
महागौरी: पवित्रता
सिद्धिदात्री: सिद्धि तथा पूर्णताको भाव
यसरी नवदुर्गाको आराधना बाह्य कर्मकाण्डमा मात्र सीमित नरही आत्मशुद्धि, आत्मबल, सदाचार र लोककल्याणको साधना बन्नुपर्छ। दुर्गासप्तशतीको पावन भावनालाई आत्मसात् गर्दै सम्पूर्ण मानवजातिमा श्रद्धा, सद्बुद्धि, साहस, करुणा र सकारात्मक ऊर्जाको विकास होस्। माता दुर्गाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र कल्याण प्राप्त होस्।
सम्पूर्ण आस्थावान समुदायमा नवरात्री तथा विजयादशमीको शुभकामना।
यादेवी सर्वभूतेषु बुद्धिरुपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।










