जसको कोही छैन, उनीहरूका लागि वीरपुरमा बन्यो घर



1,267 SHARES

विनोद सापकोटा,
झापा, असोज १८ ।
कसैका लागि घर भनेको चार पर्खाल र छानो मात्र भएको स्थायी तथा अस्थायी संरचना हो । तर बाबुआमा वा आफन्तको काख गुमाएका बालबालिकाका लागि घर भनेको संसारको सबैभन्दा ठुलो बस्तु हो । त्यहाँ उनिहरुले आफ्नो सुरक्षा, माया, पढ्ने अवसर र भविष्य खोजिरहेका हुन्छन् ।

झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ वीरपुरमा त्यही आसमा संसार खोजिरहेका बालबालिकाका लागि एउटा आश्रय स्थल तयार भएको छ । यो आश्रय स्थल स्थानीय श्री ठुली पाथिभारा मातासरी माता गुरु मन्दिर सञ्चालन समितिले अभिभावक विहिन तथा संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि करिब ३० लाख रुपैयाँ खर्च गरेर आवास भवन, शौचालय र छुट्टै चमेना गृह निर्माण गरेको हो ।

विज्ञापन

अहिले निर्माण सम्पन्न भएको दुई कोठे भवनमा तत्काल १५ जना बालबालिकालाई राख्न सकिने समितिले जनाएको छ । तर समितिको उद्देश्य यतिमै सीमित छैन । आश्रममा बालबालिकाको संख्या र आवश्यकता बढ्दै गएमा थप सेवा दिन सकियोस् भनेर निर्माण सम्पन्न भवनमाथि अर्को तला थप्ने तयारीसमेत भइरहेको छ । यो भवन कुनै दाताको ठूलो सहयोगबाट बनेको होइन । मन्दिरमा सेवा–पूजा गर्न आउने भक्तजन तथा विभिन्न समस्या लिएर मन्दिर पुग्ने सेवाग्राहीले चढाएको भेटीबाट आश्रम निर्माण गरिएको हो ।

विज्ञापन

मन्दिरका गुरु प्रल्हाद सापकोटाका अनुसार सेवा–पूजा, भविष्यवाणी तथा शारीरिक समस्या लिएर मन्दिरमा आउने सेवाग्राहीबाट प्राप्त भेटीलाई सामाजिक सेवामा लगानी गर्ने उद्देश्यले आश्रम निर्माण गरिएको हो । ‘भक्तजनले मन्दिरमा चढाएको भेटीबाट बालबालिकाका लागि घर बनाएका हौँ,’ उनले भने, ‘जसको जीवनमा सहारा दिने कोही छैन, उनीहरूका लागि यो ठाउँ सहारा बनोस् भन्ने हाम्रो चाहना हो ।’

अब यो भवनमा बालबालिकालाई राख्ने तयारी सुरु भएको छ । प्रारम्भिक चरणमा ९ जना बालबालिकालाई आश्रममा ल्याउने तयारी समितिले गरेको छ । महानवमीका दिन आश्रमको औपचारिक उद्घाटन गर्ने तयारी समितिको छ । तर, पहिलो ९ जना बालबालिका आश्रमले पाउन सकेन भने यो कार्यक्रम पछि हुने समितिले जनाएको छ ।

समितिका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार आश्रम सञ्चालनका लागि स्थानीय प्रशासन, समाज कल्याण परिषद् र स्थानीय तहसँग आवश्यक अख्तियारी प्राप्त भइसकेको छ । बालबालिकालाई आश्रममा ल्याउनुअघि उनीहरूको वास्तविक अवस्था पहिचान गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरिनेछ ।

‘हामीले बालबालिकालाई ल्याएर राख्ने मात्र होइन, उनीहरूको सम्पूर्ण जिम्मेवारी लिने तयारी गरेका छौँ,’ अध्यक्ष कार्कीले भने, ‘शिक्षा, स्वास्थ्य, खाना, आवास, औषधोपचार र उनीहरूलाई आवश्यक पर्ने आधारभूत कुराको व्यवस्था समितिले गर्नेछ ।’ समितिले परिवार वा आफन्तबाट कुनै कारणले छुटेका, अभिभावकविहीन भएका तथा शिक्षा, स्वास्थ्य र सुरक्षित आवासबाट वञ्चित बालबालिकाको खोजी सुरु गरेको छ । विशेषगरी प्राकृतिक विपद्, दुर्घटना वा अन्य महाविपत्तिमा अभिभावक गुमाएका बालबालिकालाई प्राथमिकताका साथ आश्रममा राख्ने तयारी गरिएको छ ।

तर, आश्रमको ढोका खुल्दैमा त्यहाँ बालबालिका आइपुग्ने अवस्था छैन । समाजका कुनाकाप्चामा संरक्षणविहीन भएर बसिरहेका बालबालिकासम्म पुग्नुपर्ने चुनौती समितिसामु छ । कुनै बालक सडकमा भेटिन सक्छ । कुनै बालिका आफन्तको घरमा आश्रय लिएर बसिरहेकी हुन सक्छिन् । कसैले विद्यालय छाडेर मजदुरी गरिरहेको हुन सक्छ । कसैले बाबुआमा गुमाएर आफन्तकै भरमा जीवन बिताइरहेको हुन सक्छ । यस्ता बालबालिकाको अवस्था पहिचान गरी सुरक्षित आश्रयसम्म ल्याउन स्थानीय सरकार, प्रहरी, विद्यालय, शिक्षक, सामाजिक संघसंस्था र समुदायको भूमिका महत्वपूर्ण हुने समितिको भनाइ छ ।

अनाथ बालबालिकाको हेरचाह र व्यवस्थापनका लागि आवश्यक कर्मचारी तथा जनशक्तिको तयारीसमेत गरिएको अध्यक्ष कार्कीले बताए । आश्रममा आउने बालबालिकालाई सुरक्षित वातावरणमा राख्दै उनीहरूको पढाइ र स्वास्थ्यलाई निरन्तरता दिने समितिको योजना छ । गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरले कानुनी प्रक्रिया पूरा गरेर बालबालिकाका लागि आश्रम सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गरिन् । उनले संरक्षणको आवश्यकता भएका बालबालिकाको पहिचान र उद्धारमा स्थानीय तहले समेत आवश्यक समन्वय गर्नुपर्ने बताइन् ।

वीरपुरमा बनेको यो भवन अहिले दुई कोठाको छ । तर यसको सपना दुई कोठामा सीमित छैन । बालबालिकाको संख्या र आवश्यकता बढ्दै गएमा थप सुविधा उपलब्ध गराउन निर्माण सम्पन्न भवनमाथि अर्को तला थप्ने तयारी समितिले गरेको छ । त्यसैले यो एउटा भवन मात्र होइन, संरक्षणविहीन बालबालिकाका लागि नयाँ जीवनको सुरुआत गर्ने नविनतम् प्रयास पनि भएको स्थानीयले बताएका छन् ।

जसले बाबुआमाको काख गुमाए, जसका लागि आफन्तको घर स्थायी बन्न सकेन, जसले पढ्ने उमेरमा अभावसँग लड्नुप¥यो—उनीहरूका लागि वीरपुरमा एउटा घर तयार भएको छ । अब, त्यो घरको ढोका खोल्न बालबालिकाको पहिचान गर्नुपने आवश्यकता सिङगो समाजको छ ।

‘कुनै बालबालिका तपाईंको छिमेकमा हुन सक्छन् । कुनै विद्यालयको कक्षाकोठामा चुपचाप बसिरहेका हुन सक्छन् । कुनै बालक आफन्तको भरमा आफ्नो बाल्यकाल गुजारिरहेको हुन सक्छ,’ समितिका अध्यक्ष कार्कीले भने, ‘यदि उनीहरूलाई सुरक्षित घर, शिक्षा, स्वास्थ्य र भविष्यको आवश्यकता देख्नुभयो भने वीरपुरको यो आश्रयस्थल उनीहरूको जीवनमा नयाँ अध्याय बन्न सक्छ । तपाईको एउटा सूचना, एउटा खबर र एउटा सहकार्यले कुनै बालबालिकाको जीवन बदल्नका लागि वीरपुरको अनाथलय बालबालिकाको लागि सुरक्षीत घर हुने छ ।’

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय