|
1,062 SHARES |
बिर्तामोड । यस वर्षको दशैंमा सिमसिमे पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। दशैंसम्ममा नेपालबाट मनसुन बाहिरिने सम्भावना रहे पनि त्यस अवधिमा सामान्य प्रकृतिको वर्षा हुन सक्ने उनीहरूको भनाइ छ।
मौसम विज्ञान विभागका मौसमविद्का अनुसार हाल नेपालमा ठूलो वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन। छिमेकी मुलुक भारतका अधिकांश भू–भागबाट मनसुन बाहिरिसकेको अवस्थामा नेपालमा पनि पश्चिमी भू–भाग हुँदै मनसुन बाहिरिने क्रम सुरु हुने देखिएको छ।
मौसमविद् बिनु महर्जनका अनुसार हालसम्म देखिएका मौसमी संकेतका आधारमा यस वर्षको दशैंसम्ममा नेपालबाट मनसुन बाहिरिन सक्ने सम्भावना छ। उनका अनुसार मनसुन बाहिरिएपछि पनि मौसम पूर्णरूपमा सुख्खा हुन्छ भन्ने हुँदैन। स्थानीय तथा सामान्य प्रकृतिको वर्षा भने हुन सक्ने सम्भावना रहन्छ।
यस वर्षको दशैंको घटस्थापना असोज २५ गते र विजयादशमी अर्थात् टीका कात्तिक ४ गते परेको छ। दशैंको मुख्य अवधिमै मनसुन बाहिरिने चरण पर्ने भएकाले कतिपय स्थानमा सिमसिमे पानी पर्न सक्ने मौसमविद्हरूको अनुमान छ।
नेपालमा सामान्यतया जुन १३ बाट मनसुन भित्रिने र अक्टोबर २ आसपास बाहिरिने औसत समय मानिन्छ। यद्यपि हरेक वर्ष मनसुनको आगमन र बहिर्गमनमा केही दिन तलमाथि हुने गरेको छ।
मौसमविद्हरूले हाल ठूलो वर्षा गराउने प्रणाली नरहेकाले दशैंका बेला देशभर निरन्तर भारी वर्षाको अवस्था देखिने सम्भावना नरहेको बताएका छन्। तर मनसुनको बहिर्गमनसँगै हुने मौसमी गतिविधिका कारण कतिपय स्थानमा हल्का वर्षा हुन सक्ने भएकाले दशैंमा यात्रा तथा बाहिरी कार्यक्रम बनाउनेहरूले स्थानीय मौसमको पूर्वानुमानमा ध्यान दिनुपर्ने देखिन्छ।










