प्रा. लोकनाथ पौडेलको ‘प्रोफाइल डकुमेन्ट्री’ सार्वजनिक



1,046 SHARES

बिर्तामोड । चार दशकभन्दा बढी समय शिक्षण पेसामा समर्पित हुँदै सामाजिक, साहित्यिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका प्रा. लोकनाथ पौडेलको जीवनयात्रा वृत्तचित्रमार्फत सार्वजनिक गरिएको छ।

पौडेलको संघर्ष, समर्पण, पारिवारिक पृष्ठभूमि, शिक्षण यात्रा, उपलब्धि तथा समाजप्रतिको योगदानलाई समेटेर निर्माण गरिएको ‘प्रोफाइल डकुमेन्ट्री’ शनिबार साहित्य चौतारीको आयोजनामा सार्वजनिक गरिएको हो।

विज्ञापन

शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्‍याउनुभएका पौडेलले सामाजिक, धार्मिक तथा सांस्कृतिक संरक्षण र प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। विशेषगरी शनिश्चरे उत्सवको स्थापनामा उहाँले पुर्‍याउनुभएको योगदानलाई वृत्तचित्रमा विशेष रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

विज्ञापन

वृत्तचित्रमा पौडेलको बाल्यकालदेखि शिक्षण यात्रासम्मका अनुभव, सामाजिक गतिविधि, साहित्यिक संलग्नता तथा धार्मिक–सांस्कृतिक अभियानका महत्वपूर्ण पक्ष समेटिएका छन्। उहाँको जीवनलाई व्यक्तिगत सफलताको कथामा मात्र सीमित नराखी समाजप्रतिको योगदान र समर्पणको यात्राका रूपमा प्रस्तुत गरिएको छ।

प्रेरणादायी जीवनका अनुभव तथा सामाजिक योगदानलाई डिजिटल माध्यमबाट नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको निर्माण पक्षले जनाएको छ। अर्जुनधारा, बिर्तामोड, सूर्योदय नगरपालिकालगायत विभिन्न स्थानमा छायाङ्कन गरिएको वृत्तचित्र करिब ३५ मिनेट लामो छ।

वृत्तचित्रको अवधारणा, लेखन, निर्देशन तथा स्वाङ्कन युवा सृजनशील व्यक्तित्व दिपेन भेटवालले गर्नुभएको हो। लामो समयदेखि टेलिभिजन निर्देशनमा सक्रिय भेटवालको रचनात्मक प्रस्तुतिले वृत्तचित्रलाई प्रभावकारी बनाएको निर्माण पक्षको भनाइ छ।

वृत्तचित्रको छायाङ्कन सन्तोष घिमिरे र विष्णु श्रेष्ठले गर्नुभएको हो भने सम्पादन आशिष पौड्यालले गर्नुभएको छ। संयोजनमा जितेन्द्र श्रेष्ठ ‘जतिन’ र व्यवस्थापनमा सुमन अधिकारी रहनुभएको छ।

वृत्तचित्र सार्वजनिक कार्यक्रममा साहित्य चौतारीका पदाधिकारी तथा सदस्य, झापाका अग्रज साहित्यकार, पत्रकारलगायतको उपस्थिति थियो।

चार दशकभन्दा लामो शिक्षण यात्रा, सामाजिक सक्रियता तथा धार्मिक–सांस्कृतिक योगदानलाई दृश्य माध्यममा दस्तावेजीकरण गरिएको यस वृत्तचित्रले पौडेलको अनुभव र योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय