विद्यार्थी संघर्षको कथा ‘स्ट्रगल अफ स्टुडेण्ट’को छायाङ्कन सकियो, दशैंमा प्रदर्शनको तयारी



1,041 SHARES

झापा । विद्यार्थी जीवनका संघर्ष, शिक्षामा देखिने अवसरको असमानता र पारिवारिक अवस्थाले पढाइमा पार्ने प्रभावलाई कथाको आधार बनाइएको चलचित्र ‘स्ट्रगल अफ स्टुडेण्ट’ को छायाङ्कन पूरा भएको छ। छायाङ्कन सकिएसँगै निर्माण टिमले चलचित्रलाई विजया दशमीको अवसरमा दर्शकमाझ ल्याउने तयारी थालेको छ।

पाथीभरा थिएटर एण्ड सिने प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्र झापाको सामाजिक तथा शैक्षिक परिवेशलाई आधार बनाएर तयार गरिएको हो। चलचित्रले आर्थिक रूपमा सम्पन्न र विपन्न परिवारका विद्यार्थीले शिक्षाका क्रममा पाउने अवसरमा देखिने अन्तरलाई कथामार्फत प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।

विज्ञापन

एउटै विद्यालय र एउटै कक्षामा अध्ययन गर्ने विद्यार्थीको पारिवारिक अवस्था फरक हुँदा उनीहरूको अध्ययन, अवसर र भविष्यमा पर्ने प्रभावलाई चलचित्रमा देखाइएको छ। शिक्षक–विद्यार्थी सम्बन्ध, अभिभावकको भूमिका तथा विद्यालयको वातावरणले विद्यार्थीको शैक्षिक यात्रामा पार्ने प्रभावलाई पनि कथाको महत्वपूर्ण पक्ष बनाइएको छ।

विज्ञापन

आर्थिक अभावलाई सफलताको अन्तिम बाधा नमान्दै मेहनत, अनुशासन, लगन र प्रतिभाका माध्यमबाट अघि बढ्न सकिने सन्देश चलचित्रले दिन खोजेको निर्देशक प्रितमकुमार धमलाले बताए।

‘विद्यार्थीको वास्तविक संघर्षलाई पर्दामा ल्याउने प्रयास गरेका छौँ,’ निर्देशक धमलाले भने, ‘परिवारको आर्थिक अवस्था, विद्यालयको वातावरण र विद्यार्थीको मेहनतबीचको सम्बन्धलाई दर्शकले चलचित्रमा अनुभूति गर्न सक्नेछन्।’

चलचित्रको कथा, लेखन तथा निर्देशन धमलाले गरेका हुन् भने पटकथा तथा संवाद मञ्जिल अधिकारीको रहेको छ। रमेशकुमार खरेल निर्माता र राजु खरेल उत्पादन व्यवस्थापक हुन्।

चलचित्रमा कृषा भण्डारी, राजु खरेल, राज लावती, अनुष्का ढुङ्गाना, अनुभव खापुङ, रिदम ढकाल, दीपा पोखरेल र तुलसी मिश्रलगायत कलाकारले अभिनय गरेका छन्।

प्राविधिकतर्फ राज लावतीको छायाङ्कन, विकास चौधरीको संगीत, सुवास लिम्बूको मेकअप तथा राजु लावतीको नृत्य निर्देशन रहेको छ। चलचित्रका गीतमा दिनेशराज शर्मा र डा. कुमार सुबेदीका शब्द छन्।

झापाका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रले स्थानीय परिवेश र सामाजिक यथार्थलाई कथासँग जोडेको निर्माण पक्षले जनाएको छ। मनोरञ्जनसँगै शिक्षासँग सम्बन्धित सामाजिक विषयमा दर्शकलाई सोच्न बाध्य बनाउने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्देशक धमलाको भनाइ छ।

छायाङ्कन पूरा भएपछि चलचित्रको सम्पादन तथा अन्य प्राविधिक काम अघि बढाइएको छ। निर्माण पक्षले विजया दशमीको अवसरमा चलचित्र प्रदर्शन गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय