|
685 SHARES |
काठमाडौं । फिलिपिन्समा यात्रु बोकेको डुंगामा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना बेपत्ता भएका छन्।
फिलिपिन्सको पालावान प्रान्तअन्तर्गत कोरोन क्षेत्रनजिक समुद्रमा एमभी जुन एस्टर नामक डुंगामा आगलागी भएको हो। दुर्घटनापछि ४२ जनालाई सुरक्षित उद्धार गरिएको फिलिपिन्स कोस्ट गार्डले जनाएको छ।
कोस्ट गार्डकी क्याप्टेन नोएमी कायब्याबले स्थानीय रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार ८७ जना अझै सम्पर्कविहीन छन्। कोस्ट गार्डका एक प्रवक्ताका अनुसार डुंगामा चालक दलका सदस्यसहित कुल १३४ जना सवार थिए।
सवारमध्ये ११७ जना यात्रु र १७ जना चालक दलका सदस्य रहेको बताइएको छ। उद्धार गरिएका तथा मृतकको विवरण संकलनपछि बाँकी रहेकाको खोजी तथा उद्धार कार्य जारी रहेको कोस्ट गार्डले जनाएको छ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।










