काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहको न्यूयोर्क भ्रमणको तयारी थालेको छ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आफू न्यूयोर्क जाने संकेत गरेपछि मन्त्रालयले भ्रमणको तयारी अघि बढाएको हो। महासभा आगामी असोजको पहिलो साता अमेरिकाको न्यूयोर्कमा हुँदैछ।
यसअघि प्रधानमन्त्री शाहले महासभामा सहभागी हुन आफू नजाने निर्णय गर्नुभएको थियो। त्यसपछि मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने निर्णय गरेको थियो।
तर, भदौ १० गते रसुवामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्री शाह आफैँ महासभामा सहभागी हुने संकेत गर्नुभएको जनाइएको छ।
प्रधानमन्त्री शाहको उक्त संकेतपछि परराष्ट्रमन्त्री खनालको निर्देशनमा मन्त्रालयले न्यूयोर्क भ्रमणको आवश्यक तयारी सुरु गरेको हो।










