|
775 SHARES |
एजेन्सी । पाकिस्तानमा १३ लाखभन्दा बढी फलोअर्स भएकी टिकटक स्टार शाम्सो बीबीको गोली हानी हत्या गरिएको छ । २८ वर्षीया उनी ‘आयशा गिलमाना’ नामले पनि परिचित थिइन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अगस्ट १४ मा इस्लामाबादनजिकैको ट्याक्सिलामा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनी सवार कारमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । गोली आयशाको गर्धनमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
आयशाका पिता फजल साहिबजादाले प्रहरीमा दिएको उजुरीअनुसार कासिफ उर्फ कासी नामका व्यक्तिले फोन गरेर आयशालाई घरबाहिर बोलाएका थिए । त्यसपछि उनी १५ वर्षीया बहिनी असिमा र भाइ नेमतुल्लाहसँग कारमा बाहिर निस्किएकी थिइन् ।
पेट्रोल पम्पनजिकै पुगेपछि दुई अज्ञात व्यक्तिले कारमाथि गोली चलाएका थिए । गोली प्रहारपछि अनियन्त्रित बनेको कार अर्को गाडीसँग ठोक्किँदा आयशाकी बहिनी असिमा गम्भीर घाइते भएकी छन् ।
पिताले प्रहरीमा दिएको उजुरीमा आयशाको कौसर र शाहीन जावेद नामका दुई व्यक्तिसँग आर्थिक लेनदेन रहेको र रकम फिर्ता माग्ने विषयमा उनलाई धम्की दिइएको उल्लेख गरेका छन् । परिवारले ती दुई व्यक्तिमाथि हत्यामा प्रत्यक्ष संलग्नता वा अन्य व्यक्तिमार्फत आक्रमण गराएको हुन सक्ने आशंका गरेको छ ।
प्रहरीले उजुरी दर्ता गरी घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरीले हत्याको कारण, आक्रमणकारीको पहिचान तथा घटनामा संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको जनाएको छ ।










