|
930 SHARES |
झापा । मनसुनी वायुको प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका थोरै स्थानमा तथा वाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
राति वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक रहेको विभागले जनाएको छ।










