एसियन हाइवेको काम कछुवा गतिमा, सम्झौता म्याद सकिन तीन महिना बाँकी

झापा । एसियन हाइवेअन्तर्गतको काँकडभिट्टा–लौकही सडक आयोजनाको पूर्वी खण्डको निर्माण कार्य कछुवा गतिमा अघि बढिरहेको छ। ठेक्का सम्झौताको अवधि सकिन अब तीन महिना मात्रै बाँकी रहँदा आयोजनाको आधा कामसमेत पूरा हुन सकेको छैन। निर्माणमा भइरहेको ढिलाइका कारण यात्रुले हिउँदमा अत्यधिक धुलो र वर्षायाममा हिलोको सामना गर्दै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। सडक निर्माणको सुस्त गतिका कारण यस सडकखण्डमा सवारी दुर्घटनासमेत बढ्दै गएको छ।

तीन वर्षे ठेक्का सम्झौताअनुसार दुई वर्ष नौ महिना बितिसक्दा आयोजनाको समग्र भौतिक प्रगति ४६ प्रतिशत मात्र पुगेको छ। काँकडभिट्टादेखि केर्खा–सितापुरीसम्मको ४५ किलोमिटर सडकखण्डमध्ये हालसम्म दुवैतर्फ गरी केवल १४ किलोमिटर सडक कालोपत्रे गरिएको छ।

विज्ञापन

सडक निर्माणसँगै पुल निर्माणको प्रगति झन् सुस्त देखिएको छ। आयोजना कार्यालयका अनुसार कन्काई, बिरिङ र निन्दा खोलामाथि निर्माणाधीन तीन ठूला पुलको भौतिक प्रगति २७ प्रतिशत मात्र पुगेको छ। चौथो प्याकेजअन्तर्गत निर्माण भइरहेका यी पुलमा आगामी सेप्टेम्बर महिनादेखि स्टिल आर्क संरचना जडान गर्ने तयारी गरिएको छ। साथै पुलमा पूर्वनिर्मित गर्डरहरू क्रेनमार्फत जडान गर्ने काम भइरहेको आयोजनाले जनाएको छ।

विज्ञापन

काँकडभिट्टादेखि केर्खा–सितापुरीसम्मको ४५ किलोमिटर सडक निर्माणको ठेक्का एभ्रास्कोन–कालिका जेभीले १० अर्ब ६ करोड रुपैयाँमा पाएको हो। निर्माण कार्य २०८० माघ १९ गतेदेखि सुरु गरिएको थियो।

यस्तै, ३०० मिटरभन्दा लामो निन्दा, बिरिङ र कन्काई पुल निर्माणको ठेक्का चौथो प्याकेजअन्तर्गत ५ अर्ब ९७ करोड रुपैयाँमा कोभेक–क्रेजसी–टुन्डी जेभीले प्राप्त गरेको हो।

दुवै ठेक्काको सम्झौता २०८० कात्तिक २ गते भएको थियो। सम्झौताअनुसार निर्माण कार्य सुरु भएको मितिबाट तीन वर्षभित्र आयोजना सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय