|
719 SHARES |
शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षी नगर कार्यसमितिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने विकासका प्राथमिकतासहित नगर प्रमुख मेगाहाङ थोप्रालाई ध्यानाकर्षण गराएको छ।
सोमबार नगर प्रमुखको कार्यकक्षमा बुझाइएको १५ बुँदे ध्यानाकर्षण पत्रमा नगरको दीर्घकालीन विकास, आधारभूत सेवा विस्तार तथा सुशासनसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ समेटिएको छ।
नगर सभापति अशोक बस्नेतद्वारा हस्ताक्षरित पत्रमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार तथा सार्वजनिक सेवा सुधारसँग सम्बन्धित विषयहरूलाई आगामी बजेट तथा कार्यक्रममा समावेश गर्न आग्रह गरिएको छ।
ध्यानाकर्षण पत्रमा नगरभित्रको फोहोर व्यवस्थापन तथा डम्पिङ साइटको दीर्घकालीन समाधान, औद्योगिक करिडोर स्थापना गरी रोजगारी सिर्जना, सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, नगर अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र पूर्वाधार विकास गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी कृषकलाई मल, बीउ, सिँचाइ तथा कृषि सामग्रीमा सहुलियत उपलब्ध गराउने, झिलझिले बसपार्क सञ्चालनमा ल्याउने, सार्वजनिक यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने, भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्ने, सडक स्तरोन्नति गर्ने, बजेट कार्यान्वयनमा पारदर्शिता कायम गर्ने तथा स्थानीय सञ्चारमाध्यम र संस्थालाई प्राथमिकता दिनुपर्ने विषय पनि समेटिएका छन्।
कांग्रेसले यी सुझाव कार्यान्वयन भए नगरमा सुशासन, पारदर्शिता, जवाफदेहिता, प्रभावकारी सेवा प्रवाह तथा दिगो विकासलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। साथै नगरवासीको जीवनस्तर उकास्ने योजनालाई प्राथमिकता दिँदै आगामी बजेटलाई जनमुखी र परिणाममुखी बनाउन आग्रह गरेको छ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख मेगाहाङ थोप्राले प्राप्त सुझावहरूलाई आगामी नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा अध्ययन गरी सम्भव भएसम्म समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।









