एजेन्सी । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्दै नयाँ इतिहास रचेका छन्। सन् २०२६ को फिफा विश्वकपअन्तर्गत सेनेगलविरुद्धको खेलमा दुई गोल गरेसँगै उनले फ्रान्सका पूर्व स्ट्राइकर ओलिभियर गिरुडको कीर्तिमान तोडेका हुन्।
९९ अन्तर्राष्ट्रिय खेलमा ५८ गोल पूरा गर्दै एम्बाप्पे फ्रान्सको इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्। यसअघि गिरुडले १३७ खेलमा ५७ गोल गरेका थिए।
सन् १९९८ डिसेम्बर २० मा फ्रान्सको बोंदीमा जन्मिएका एम्बाप्पेले सन् २०१७ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उनी १९ वर्षको उमेरमै सन् २०१८ को विश्वकप जित्ने फ्रान्सेली टोलीका प्रमुख सदस्य बनेका थिए। सो प्रतियोगिताको फाइनलमा गोल गर्दै उनी ब्राजिलका महान् खेलाडी पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने दोस्रो किशोर खेलाडी बनेका थिए।
एम्बाप्पेले सन् २०२२ को विश्वकपमा आठ गोल गर्दै गोल्डेन बुट जितेका थिए। अर्जेन्टिनाविरुद्धको फाइनलमा ह्याट्रिक गर्दै उनले विश्वकप फाइनलमा सर्वाधिक चार गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका थिए।
क्लब फुटबलमा एएस मोनाकोबाट व्यावसायिक यात्रा सुरु गरेका एम्बाप्पेले पेरिस सेन्ट जर्मेन ९पीएसजी० बाट फ्रान्सेली फुटबलमा प्रभुत्व कायम गरे। पीएसजीका सर्वाधिक गोलकर्ता बनेका उनी हाल स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलिरहेका छन्।

विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक मानिने एम्बाप्पेले आफ्नो करिअरमा विश्वकप, यूईएफए नेसन्स लिग, लिग वानलगायत थुप्रै उपाधि जितिसकेका छन्। २७ वर्षको उमेरमै राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता बन्न सफल उनी आगामी दिनमा थप कीर्तिमान बनाउने लक्ष्यमा रहेका छन्।
फ्रान्सेली फुटबलका नयाँ युगका प्रतीक मानिने एम्बाप्पेको यो उपलब्धिलाई फ्रान्सको फुटबल इतिहासकै महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ।









