इलाम । इलामको रोङ गाउँपालिका–२ स्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सञ्चालन भएको पाँचदिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ ।
सामुदायिक वनको महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत उद्घोषण कला तथा वाक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम गत जेठ २७ गतेदेखि सञ्चालन भएको थियो। वन समूहको सभा हलमा आयोजित तालिममा महिला, युवा तथा विद्यार्थी गरी ३५ जनाभन्दा बढीको सहभागिता रहेको थियो।
तालिममा खबरखेती डटकमका सम्पादक तिलक योञ्जनले प्रशिक्षण प्रदान गर्नुभएको थियो। समापन कार्यक्रम वन समूहका सचिव सन्तबहादुर तामाङको अध्यक्षता तथा रोङ गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष चन्द्रशेखर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रम सहभागीहरूको तर्फबाट जेनिला राईले सञ्चालन गरेकी थिइन्।
कार्यक्रममा सहभागी आयुष राई, निरा रानी मोक्तान, सिमरन राई र अशित राईले तालिमबाट प्राप्त अनुभव तथा सिकाइका विषयमा धारणा राख्दै तालिम अत्यन्त प्रभावकारी भएको बताएका थिए। उनीहरूले आगामी दिनमा पनि यस्तै प्रकारका क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए।
समापन अवसरमा सहभागीहरूलाई कार्यक्रमका अध्यक्ष सन्तबहादुर तामाङ, प्रमुख अतिथि घिमिरे तथा प्रशिक्षक योञ्जनले प्रमाणपत्र वितरण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रशिक्षक तिलक योञ्जनले तालिमको प्रभावकारितालाई व्यवहारमा उतार्दै सिकेका सीप र ज्ञानलाई दैनिक जीवन तथा सामाजिक क्षेत्रमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
तालिम समापनको अवसर पारेर आयोजक समितिको तर्फबाट समूहका सचिव तामाङले र सहभागीहरूका तर्फबाट सामूहिक रुपमा प्रशिक्षक योन्जनलाई मायाको चिनो प्रदान गरिएको थियो।

वन समूहका सचिव तामाङले सामुदायिक वनले आगामी दिनमा पनि उपभोक्ताको क्षमता अभिवृद्धि र सचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसअघि समापन समारोहअघि सामुदायिक वनका अध्यक्ष खुम्बा तामाङले सहभागीहरूलाई सम्बोधन गर्दै तालिम प्रभावकारी भएकाले आगामी नीति तथा कार्यक्रममा यस्ता कार्यक्रमलाई अनिवार्य रूपमा समेट्ने धारणा राख्नुभएको थियो।
समापन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको समेत उपस्थिति रहेको थियो।









