तस्बिरमा कैद उभौलीको उल्लास र किराँत संस्कृतिको वैभव, हेर्नुहोस् १९ तस्बिर



9,000 SHARES

झापा । राई किराँत समुदायको महान सांस्कृतिक पर्व उभौलीको अवसरमा झापाको कमल गाउँपालिका स्थित सितापुरीमा आयोजित उभौली सकेला शिली प्रदर्शन तथा समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ।

विज्ञापन

हजारौं सहभागीको उपस्थितिमा सम्पन्न कार्यक्रममा पूर्वी नेपालको सांस्कृतिक वैभव झल्काउने ३९ वटा सकेला शिली टोलीले आकर्षक प्रस्तुति दिएका थिए। 

विज्ञापन

झापा, मोरङ, सुनसरी र इलामका विभिन्न स्थानबाट आएका शिली टोलीसँगै भारतको दार्जिलिङ जिल्लाबाट समेत सहभागी टोलीहरूले कार्यक्रममा सांस्कृतिक रंग भरेका थिए।

आयोजकका अनुसार कार्यक्रममा करिब २० हजारदेखि २५ हजारसम्म दर्शक तथा सहभागीको उपस्थिति रहेको थियो। 

राई किराँत समुदायले प्रकृति, भूमि, जल, वनस्पति तथा जीवजन्तुप्रति कृतज्ञता व्यक्त गर्दै मनाउने उभौली पर्वको मुख्य आकर्षण नै सामूहिक रूपमा प्रस्तुत गरिने सकेला शिली नृत्य हो। 

उभौलीलाई खेतीपाती सुरु गर्ने समयसँग जोडेर हर्षोल्लासका साथ मनाइन्छ। यस पर्वले मानव र प्रकृतिबीचको अन्तरसम्बन्ध, सामूहिकता, श्रम, सहकार्य तथा सांस्कृतिक पहिचानलाई उजागर गर्ने विश्वास गरिन्छ।

समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी सांसद हर्क साम्पाङले मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले समुदायको पहिचान र सांस्कृतिक सम्पदालाई जोगाउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमको अर्को मुख्य आकर्षण भनेका विभिन्न टोलीका सहभागीहरूको मौलिक भेषभूषा र गरगहना थिए। 

परम्परागत पोसाक, चाँदी तथा सुनका गहनाले सुसज्जित महिला तथा पुरुष सहभागीहरूले प्रस्तुत गरेको शिली नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। 

ढोल, झ्याम्टा र पारम्परिक बाजागाजाको तालमा प्रस्तुत शिली नृत्यले सम्पूर्ण कार्यक्रमस्थललाई सांस्कृतिक उत्सवमय बनाएको देखिन्थ्यो।

तस्वीरहरूमा कैद भएका रंगीन दृश्यहरूले किराँत समुदायको सांस्कृतिक समृद्धि, एकता र परम्पराप्रतिको सम्मानलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

उभौली पर्व केवल धार्मिक वा सांस्कृतिक उत्सव मात्र नभई प्रकृतिसँगको सहअस्तित्व, सामूहिक सद्भाव र सांस्कृतिक पहिचानको उत्सवका रूपमा स्थापित हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
2
+1
1
+1
0

Author

तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय