|
9,000 SHARES |
झापा । झापाको गौरादह नगरपालिका–२ सिटिया टोलस्थित बाटो छेउको पैनीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारी स्थायी घर भएका ६० वर्षीय बाबुराम हस्दा पछिल्लो सात वर्षदेखि गौरादह–२ लोदावारीस्थित आफ्नी छोरी सविना हस्दाको घरमा बस्दै आएका थिए।
बुधबार साँझ करिब ४ः४५ बजे उनलाई पैनीमा घोप्टो परेर लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए। स्थानीय चक्रबहादुर राई र शिरुलाल ताजपुरियाले जीवित छन् कि भनेर तत्काल पैनीबाट बाहिर निकाली हेर्दा उनको मृत्यु भइसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएको थियो। कानुनी प्रक्रिया पूरा गरी साँझ ६ः२५ बजे शव पोस्टमार्टमका लागि उर्लाबारी मंगलबारे अस्पताल मोरङ पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको छ।










