|
9,000 SHARES |
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले इन्धन उपभोगमा ५० प्रतिशत कटौती गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोज कुमार घिमिरेले हालसम्म प्रदान हुँदै आएको इन्धन सुविधामा आधा कटौती गर्ने निर्णय कार्यान्वयनमा ल्याउनुभएको हो।
मध्यपूर्वी देशहरूमा विकसित परिस्थितिसँगै इन्धनको मूल्य लगातार बढिरहेको अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले वैशाख ७ गतेदेखि लागू हुने गरी इन्धन खपत घटाउने निर्णय गरेको घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार यो निर्णयले इन्धनको खपत घटाउनुका साथै सरकारी खर्च कटौती अभियानलाई पनि टेवा पुग्नेछ।
नगरपालिकाका लेखा अधिकृत गोविन्द रिजालका अनुसार अर्जुनधारामा हाल मासिक २ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म इन्धनमा खर्च हुँदै आएको थियो। नयाँ निर्णयसँगै उक्त खर्चमा ५० प्रतिशत कमी आउने अपेक्षा गरिएको छ। कर्मचारी, जनप्रतिनिधि तथा कार्यालय प्रयोजनका लागि प्रयोग हुँदै आएका सवारी साधनमा यो कटौती लागू गरिएको हो।
सरकारले समेत इन्धन संकट समाधानका लागि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको सन्दर्भमा अर्जुनधाराको यो कदमलाई मितव्ययी नीति कार्यान्वयनको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरे आएयता नगरपालिकामा प्रशासनिक सुधारका विभिन्न कदमहरू अघि बढाइएको छ। घिमिरेले बिनादरबन्दी कार्यरत ६ जना कर्मचारी हटाउनुका साथै कार्यालय सञ्चालन र कर्मचारी आचरणमा कडाइ गरेका छन्। त्यस्तै कार्यालय समयपालनमा कडाइ गर्दै १५ मिनेटभन्दा ढिला उपस्थित भए ई–हाजिरी बन्द हुने व्यवस्था लागू गरिएको छ।
त्यसैगरी, अनिवार्य कार्यालय पोशाक र परिचयपत्र (आईडी कार्ड) प्रयोग, खाजाको निश्चित समय निर्धारण, आचारण उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही तथा सरुवाजस्ता व्यवस्थाहरू समेत कार्यान्वयनमा ल्याइएको छ।
गत भदौ २० गतेदेखि जिम्मेवारी सम्हालेका घिमिरेले जेनजी आन्दोलन तथा विपद्पछिको पुनस्थापनामा तीव्रता, वडाकार्यालयहरूको छिटो सञ्चालन तथा ज्येष्ठ नागरिक भत्ता वितरणमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै स्थानीय तहमा उनको कार्यशैलीलाई प्रभावकारी मानिएको छ ।










