|
9,000 SHARES |
विराटनगर । झापा–११ ले ३८ औं ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ। विराटनगरस्थित सहिद रंगशाला मा आइतबार राति सम्पन्न फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि उचालेको हो।
उपाधिसँगै झापा–११ ले ११ लाख रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ भने उपविजेता सम्राट स्पोर्टिङ क्लबले ५ लाख रुपैयाँ प्राप्त गरेको छ। यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लब लाई हराउँदै झापाले पहिलोपटक विराट गोल्डकप जितेको थियो।
झापाको जितमा राजेश दाहाल र दिवस उराउले एक–एक गोल गरे। सम्राटका सौरभ तामाङले सान्त्वना गोल फर्काए। प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ८१ औं मिनेटमा गोलरक्षक विशाल सुनारको लामो पासलाई नियन्त्रणमा लिँदै राजेश दाहालले उत्कृष्ट गोल गर्दै झापालाई अग्रता दिलाए। त्यसको ६ मिनेटपछि फागुराम थारुको पासमा दिवस उराउले गोल थप्दै झापाको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा सम्राटका सौरभ तामाङले गोल गरे पनि हार टार्न सकेनन्।
पहिलो हाफमा दुवै टोलीले केही महत्वपूर्ण अवसर गुमाएका थिए। खेलको १६ औं मिनेटमा सम्राटका सुरजको प्रहार झापाका गोलरक्षक विशाल सुनारले बचाए भने झापाका सुलमान किङको प्रहार पोस्ट बाहिरिएको थियो।
दोस्रो हाफमा झापा आक्रामक देखियो। ४७ औं मिनेटमा राजेश दाहाल र ५५ औं मिनेटमा मौसम सुब्बाको प्रहार लक्ष्यबाहिर गएको थियो। उत्कृष्ट प्रदर्शनका लागि राजेश दाहाल ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै ११ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको विधागत पुरस्कारमा झापाकै दबदबा रह्यो। फागुराम थारू ३ गोलसहित ‘हाइ स्कोरर’ बने। सम्राट स्पोर्टिङका अशोक खवास ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित हुँदै ५१ हजार रुपैयाँ प्राप्त गरे। झापाका विशाल सुनार उत्कृष्ट गोलरक्षक तथा सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरूले जनही १५ हजार रुपैयाँ पाए।
विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, वन, पर्यटन तथा वातावरण मन्त्री भिम पराजुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए।
चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टोलीको सहभागिता रहेको थियो।










