|
9,000 SHARES |
बिर्तामोड । ‘एनी चौथो बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता’ अन्तर्गत आज तेस्रो क्वाटरफाइनल खेलमा ब्रदरहुड फुटबल क्लब उदयपुर र जलथल फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुँदैछ।
बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा दिउँसो ३ बजेदेखि खेल सुरु हुने आयोजकले जनाएको छ। आजको खेलको विजेता टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने तेस्रो टोली बन्नेछ।
यसअघि हिजो सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा मोरङको बेलबारीले इलामको रेडहर्स फुटबल क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ।
प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ।
त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ पुरस्कार दिइनेछ भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको फाइनल खेल वैशाख १२ गते आयोजना हुने छ।










