इन्डो–नेपाल यू–१३ टी–२० : मिलन क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै हिमाबी विजयी



9,000 SHARES

अर्जुनधारा, झापा । इन्डो–नेपाल यू–१३ टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’को तेस्रो खेलमा हिमाबी क्रिकेट एकेडेमीले मिलन क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा सम्पन्न खेलमा मिलन क्रिकेट क्लबले दिएको १२६ रनको लक्ष्य हिमाबीले १७.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

विज्ञापन

खेलमा पहिले ब्याटिङ गरेको मिलन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२५ रन बनाएको थियो। टोलीका लागि अनुपम भट्टराईले २६ रनको योगदान दिए भने आवास शिवाकोटीले २५ र सुसान्त घिमिरेले १७ रन जोडे।

विज्ञापन

बलिङतर्फ हिमाबी क्रिकेट एकेडेमीका नयन लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। प्रिन्स गुरागाईं र कश्यप खनालले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा हिमाबीका प्रिन्स गुरागाईंले ३४ रनको महत्वपूर्ण इनिङ्स खेले। ईशान राईले अविजित १८ रन तथा लक्ष्मण भट्टराईले १३ रनको योगदान दिए।

मिलन क्रिकेट क्लबका बलर आराध्या खनालले ३ विकेट लिए भने निराज भट्टराईले २ र कबिश भट्टराईले १ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका प्रिन्स गुरागाईं खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनले ३४ रन बनाउनुका साथै १ विकेट समेत लिए। उनलाई नगद १ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो।

यो जितसँगै हिमाबी क्रिकेट एकेडेमीले प्रतियोगितामा सुखद सुरुआत गरेको छ। समूह चरणमा यो टोलीको पहिलो खेल हो भने मिलान क्रिकेट क्लबको लगातार दोस्रो हार हो।

प्रतियोगितामा नेपालका ८ र भारतका २ टोलीसहित कुल १० टोलीको सहभागिता रहेको छ। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा तथा बोस्टन क्रिकेट एकेडेमीको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेता टोलीले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय