बुद्धशान्तिमा चितुवाको क्रुर हत्या : दोषी पहिचानका लागि अनुसन्धान तीव्र



9,000 SHARES

झापा । झापाको बुद्धशान्ति गाउँपालिका मा ११ दिनअघि भएको चितुवाको क्रुर हत्या घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा कारबाहीका लागि अनुसन्धान प्रक्रिया तीव्र पारिएको छ।

डिभिजन वन कार्यालय झापा ले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग को निर्देशनमा सुरज निरौलाको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरेको हो। विशाल भट्टराई र सौरभ थापाले उजुरी दिएपछि केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइ ले दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएको थियो।

विज्ञापन

गत चैत ८ गते बुद्धशान्ति–४ को टिमाई शिविर नजिकै मकैबारीमा देखिएको चितुवालाई नियन्त्रणमा लिन कोशी टप्पु वन्यजन्तु आरक्ष बाट आएको प्राविधिक टोली प्रयासरत थियो। ‘डार्ट’ प्रहार गरी चितुवालाई नियन्त्रणमा लिने क्रममा नै मादक पदार्थ सेवन गरेका व्यक्तिहरू समेत सहभागी अराजक भीडले ढुङ्गा र लाठी प्रहार गर्दै चितुवाको हत्या गरेको जनाइएको छ।

विज्ञापन

घटनास्थलमा प्रहरी परिचालन गरी माइकिङ गरिए पनि करिब १५ सयको उत्तेजित भीडलाई नियन्त्रण गर्न नसक्दा सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठेको छ।

अनुसन्धान टोलीले घटनास्थलका भिडियो तथा तस्बिरहरू सङ्कलन गर्दै संलग्नहरूको पहिचान गरिरहेको छ। डिभिजन वन कार्यालयका प्रमुख नथुनी गुहयारी यादवका अनुसार वन्यजन्तु अपराधमा हदम्याद नहुने भएकाले दोषी प्रमाणित भए जुनसुकै समयमा पनि कारबाही गर्न सकिनेछ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार चितुवा मार्ने व्यक्तिलाई ५ देखि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

घटनाका दिन चितुवा हेर्न र भिडियो खिच्न ठूलो भीड जम्मा भएको थियो। भीडले जनावरलाई जिस्क्याउँदा अवस्था तनावपूर्ण बनेको र त्यसक्रममा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदार श्रेष्ठसहित स्थानीय कृष्ण गजमेर, दुर्गाबहादुर कटुवाल र विशाल कार्की घाइते भएका थिए।

चितुवा आक्रामक बनेपछि भीड थप उग्र बन्दै अन्ततः नियन्त्रणको अवस्थामा रहेको वन्यजन्तुको समेत बीभत्स हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय