|
9,000 SHARES |
झापा । नेपालमा वर्षौंदेखि रहँदै आएको भुटानी शरणार्थी समस्यालाई प्राथमिकतामा राखेर समाधानका लागि ठोस पहल गर्न सरकारसँग आग्रह गरिएको छ। भुटानी शरणार्थी खुदुनाबारीका भूतपूर्व सचिव भानु ढुंगानाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई तथा शुभकामना व्यक्त गर्दै शरणार्थी मुद्दामा प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराउनुभएको हो।
हाल क्यानडामा रहनुभएका ढुंगानाले जारी गर्नुभएको विस्तृत शुभकामना सन्देशमा झापा र मोरङ जिल्लामा अझै पनि करिब ६–७ हजार भुटानी शरणार्थीहरू अत्यन्तै कठिन परिस्थितिमा जीवनयापन गरिरहेको उल्लेख गरिएको छ। दशकौं बितिसक्दा पनि उनीहरूको दिगो समाधान नहुनु दुःखद रहेको भन्दै सम्मानजनक पुनर्वास तथा स्वदेश फिर्ती सुनिश्चित गर्न नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिइएको छ।
सन्देशमा विभिन्न कारणले मातृभूमि फर्कन नसकेका शरणार्थीहरूका लागि नेपालमै सम्मानजनक बसोबासको सुनिश्चितता गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्दै उनीहरूलाई सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न सरकारको भूमिका महत्वपूर्ण रहने उल्लेख गरिएको छ।
ढुंगानाले विगतमा भएका विभिन्न आन्दोलन, द्वन्द्व र राजनीतिक परिवर्तनका बाबजुद शरणार्थी समस्या समाधानमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै वर्तमान अवस्थामा नयाँ सरकारप्रति ठूलो आशा र अपेक्षा रहेको बताउनुभएको छ। जनविश्वास कायम राख्दै परिणाममुखी र दिगो समाधानतर्फ अग्रसर हुनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभएको छ।
यसैबीच, सन्देशमा प्रधानमन्त्री बालेन शाहको समग्र नेतृत्वप्रति पनि विश्वास व्यक्त गरिएको छ। उहाँको दूरदर्शी सोच र कुशल नेतृत्वमा नेपाल विकास र समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गरिएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय तथा पूर्वाधार विकासका क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्दै सुशासन कायम गर्न सरकार सफल हुने विश्वास व्यक्त गरिएको छ।
देशमा व्याप्त भ्रष्टाचार, कुशासन तथा कानुनी जटिलताको अन्त्य गर्दै समावेशी र समुन्नत राष्ट्र निर्माणमा सरकारले ठोस उपलब्धि हासिल गर्ने अपेक्षा पनि सन्देशमा गरिएको छ। साथै, विगतका राजनीतिक अस्थिरता र अधुरा परिवर्तनका कारण जनतामा रहेको निराशालाई आशामा बदल्ने अवसर वर्तमान सरकारसँग रहेको उल्लेख गरिएको छ।










