|
9,000 SHARES |
झापा । इन्टरनेट सेवा प्रदायक नेपलिंक कम्युनिकेशन प्रा.लि.ले आफ्नो ८औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाउने भएको छ। कम्पनीले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत वार्षिकोत्सवको अवसरमा विशेष सुविधा तथा इन्टरनेट सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन उप्रेती तथा कर्पोरेट निर्देशक युवराज चापागाईंले वार्षिकोत्सवका कार्यक्रम तथा आगामी योजनाबारे जानकारी दिनुभयो। उहाँहरूले कम्पनीको स्थापना करिब आठ वर्षअघि चार जना साझेदारको संयुक्त पहलमा भएको उल्लेख गर्दै प्रारम्भिक चरणमा ताररहित इन्टरनेटमार्फत सेवा सुरु गरिएको बताउनुभयो। पछिल्लो समय कम्पनीले फाइबर प्रविधिमा विस्तार गर्दै ग्राहकलाई छिटो तथा भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको जानकारी पनि दिनुभयो।
कम्पनीका अनुसार आधुनिक प्रविधिअन्तर्गत पाँचौँ पुस्ताको राउटर प्रयोग गरी उच्च गति र स्थिर इन्टरनेट सेवा प्रदान गरिँदै आएको छ। हाल नेपलिंकले इलाम, झापा, मोरङ र पाँचथर जिल्लामा संस्थागत तथा घरायसी ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको जनाएको छ।
पत्रकार सम्मेलनमा कम्पनीका लेखा प्रमुख विनम पोखरेलले कम्पनीको वार्षिक आम्दानी सन्तोषजनक रूपमा बढिरहेको जानकारी दिँदै आगामी दिनमा आर्थिक व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै सेवा विस्तारको योजना अघि बढाइने बताउनुभयो। उहाँका अनुसार कम्पनीले भविष्यमा देशभर इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्यका साथ दीर्घकालीन आर्थिक योजना तयार गरिरहेको छ।
वार्षिकोत्सवको अवसर पारेर कम्पनीले आठ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ। यस क्रममा ग्राहकका लागि ‘मेगा आठ बिक्री योजना’ नामक विशेष सुविधा पनि सार्वजनिक गरिएको छ। उक्त योजनाअन्तर्गत आठ हजार आठ सय अठासी रुपैयाँमा अठार महिनासम्मको नयाँ इन्टरनेट जडान सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ। यो सुविधा वार्षिकोत्सव अवधिभर अर्थात् आठ दिनसम्म लागू हुने र प्रत्येक दिन बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म नयाँ जडान सेवा प्रदान गरिने बताइएको छ।

यसका साथै वार्षिकोत्सव कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना कर्मचारीहरूको सम्मान तथा प्रशंसा कार्यक्रम पनि आयोजना गर्ने भएको छ। सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्न विभिन्न विद्यालयहरूमा इन्टरनेट सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना पनि कम्पनीले जनाएको छ।










