|
9,000 SHARES |
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको प्रतिनिधिसभा निर्वाचनमा ठूलो जित हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई सोमबार टेलिफोनमार्फत बधाई दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिटसहित दुईतिहाइ बहुमततर्फ अग्रसर भइरहँदा मोदीले सभापति लामिछाने र वरिष्ठ नेता साहसँग टेलिफोन संवाद गरेको जानकारी दिएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीभित्र भएको सहमतिअनुसार फागुन २१ को निर्वाचनपछि बालेन्द्र साह प्रधानमन्त्री बन्ने सहमति गत पुस १३ गते नै भएको बताइएको छ। निर्वाचनपछि प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम अन्तिम चरणमा पुगिरहेका बेला मोदीले दुवै नेतासँग संवाद गरेका हुन्।
मोदीले निर्वाचनमा प्राप्त ऐतिहासिक जितका लागि दुवै नेतालाई बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका छन्।
सोमबार सामाजिक सञ्जाल एक्स मार्फत उनले नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
उनले संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्धलाई अझ मजबुत र उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। यसअघि पनि मोदीले फागुन २१ मा सम्पन्न निर्वाचन सफलतापूर्वक गराएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका थिए।










