|
9,000 SHARES |
झापा । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू गरिएको ‘निर्वाचन आचारसंहिता, २०८२’ सोमबार रातिदेखि निष्क्रिय हुने निर्णय गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले आज बसेको बैठकबाट यस्तो निर्णय गरेको हो।
गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त बनाउन निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम आचारसंहिता लागू गरिएको थियो।
आयोगको माघ ४ गतेको निर्णयअनुसार सोही दिन राति १२ बजेदेखि आचारसंहिता लागू गरिएको थियो। आयोगले अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको उक्त आचारसंहिता अब सोमबार रातिदेखि भने निष्क्रिय हुने जनाएको छ।
यससम्बन्धी जानकारी आयोगले सोमबार जारी गरेको विज्ञप्तिमार्फत दिएको हो।










