|
9,000 SHARES |
काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम आज हुने भएको छ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको हलमा सोमबार दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि गत माघ ११ गते निर्वाचन भएको थियो। सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा (२) बमोजिम नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउनुहुनेछ।
शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सदस्यहरूले आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी साथमा ल्याउनुपर्नेछ।
नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले कानुनअनुसार शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगका अनुसार गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका छन्।
मधेश प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन्। बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन् भने कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित भएका छन्।
यसैगरी सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएको आयोगले जनाएको छ।










