|
9,000 SHARES |
इलाम । इलाम–२ को उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गरेका सुहाङ नेम्बाङले १६ महिनाको अवधिमा आफूलाई परम्परागत राजनीतिक शैलीभन्दा फरक, जिम्मेवार र युवामैत्री सांसदका रूपमा प्रस्तुत गरेका छन्। प्रारम्भिक चरणमा देखिएका शंका–उपशंकालाई उनले संसदीय सक्रियता, स्पष्ट अभिव्यक्ति र व्यवहारमार्फत क्रमशः विश्वासमा रूपान्तरण गरेका छन्।
संसदमा स्पष्ट र संयमित आवाज
संसद्लाई नाराबाजीको थलोभन्दा नीति निर्माण र जनताको आवाज उठाउने मञ्चका रूपमा बुझ्ने नेम्बाङले शून्य समयमा इलामका मुद्दा निरन्तर उठाउँदै आएका छन्। एम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा देखिएका जटिलता, आन्दोलनका क्रममा भएको गोली प्रहार तथा अश्रुग्याँस प्रयोगजस्ता विषयमा उनले स्पष्ट धारणा राखेका थिए। प्राकृतिक विपद् तथा सङ्कटका बेला औपचारिकता भन्दा मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै इलामलाई संकटग्रस्त जिल्ला घोषणा र बजेट विनियोजनका लागि पहल गरेका थिए।
विरासत र विश्वास
०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ ३० हजार २० मतसहित विजयी भएका थिए। नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए। सुवासचन्द्र नेम्वाङको निधनपछि भएको ०८१ सालको उपनिर्वाचनमा सुहाङ नेम्बाङ २७ हजार ७७२ मतसहित विजयी भए। उक्त निर्वाचनमा काँग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए।
उपनिर्वाचनमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा भए पनि सुहाङले झन्डै पाँच हजार ८३० मतान्तरले जित निकाल्दै राजनीतिक विरासतलाई जनमतमार्फत अनुमोदन गराए। अहिले भने कुनै स्पष्ट गठबन्धन नभएकाले आगामी प्रतिस्पर्धा अझ रोचक र अनिश्चित देखिएको छ। २०४८ यता इलाम–२ मा दोस्रो हुँदै आएको नेपाली काँग्रेस यस पटक जित निकाल्ने दाउमा छ।
सडक र पूर्वाधारमा जोड
नेम्बाङले संसदमा इलामका अधुरा पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न बारम्बार माग गरेका छन्। केचना–कञ्चनजङ्घा, दमक–चिसापानी, नेपालटार–मङ्गलवारे, राँके–रबी–भेडेटार तथा राँके–गेडै सडक आयोजनामा देखिएको ढिलासुस्तीप्रति उनले प्रश्न उठाउँदै ठेकेदार र सम्बन्धित निकायलाई उत्तरदायी बनाउन आग्रह गरेका छन्। बजेट विनियोजन भएर पनि कार्यान्वयन कमजोर हुनु मुख्य समस्या रहेको उनको धारणा छ।
चिया निर्यात र किसानको चिन्ता
इलामको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको चिया उद्योगबारे पनि उनले संसदमा आवाज उठाएका छन्। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा किसान मारमा परेको उल्लेख गर्दै चिया निर्यातमा देखिएका अवरोध तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। कृषिजन्य वस्तुको बजार सुनिश्चितता र मूल्य स्थिरताका लागि दीर्घकालीन नीति आवश्यक रहेको उनले बताएका छन्।
शिक्षा र स्वास्थ्यमा पहल
शैक्षिक पूर्वाधार सुदृढीकरण, आधुनिक पाठ्यक्रम सुधार र उच्च शिक्षाको पहुँच विस्तारमा उनले जोड दिएका छन्। स्वास्थ्यतर्फ इलाम जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त रहनु र भवन जीर्ण हुनु गम्भीर समस्या भएको उल्लेख गर्दै दरबन्दी पूर्ति तथा नयाँ भवन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
१६ महिनाको संसदीय यात्रामा सुहाङ नेम्बाङले युवाको अपेक्षा, विकासको गति र उत्तरदायित्वको प्रश्नलाई संसदमा उठाएका छन्। अबको चुनावी प्रतिस्पर्धामा उनका यी कदमहरू मतदाताले कसरी मूल्याङ्कन गर्छन् भन्ने कुराले इलाम–२ को राजनीतिक दिशा निर्धारण गर्नेछ।










