|
9,000 SHARES |
झापा । मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव क्रमशः कमजोर हुँदै गएको जनाएको छ। तर, पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा कायम रहेको महाशाखाले बताएको छ।
महाशाखाका अनुसार शनिबार बिहानसम्म कोशी प्रदेशमा पूर्ण बदली र देशका बाँकी भूभागमा सामान्यदेखि अधिकांश बदलीको अवस्था देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। कोशीका थोरै तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा र बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी–हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
राति कोशी र मधेश प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।










