झापा । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनका लागि झापा बिर्तामोड ८ स्थित गरामनी क्याम्पसमा जम्मा ४० जना विद्यार्थीमध्ये २० जना उम्मेद्वार बनेका छन् ।
कुल विद्यार्थीमध्ये आधा उम्मेद्वार बनेका हुन् । नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन , नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्रत्यक्षतर्फ १५ जना र समानुपातिकतर्फ पाँचजनाको उम्मेद्वारी दिएका हुन् । अध्यक्ष , सचिव र कोषाध्यक्ष पदमा ती तीनवटा संगठनले ३–३ जना उम्मेद्वारी दिएका छन् । अनेरास्ववियूले अध्यक्षमा बिमला गिरी , सचिवमा सुनिता संग्रौला, कोषाध्यक्षमा अञ्जली मुर्मू र सदस्यमा दावा तामाङलाई उठाएको छ भने नेविसंघका तर्फबाट अध्यक्षमा रोनिश पाठक , सचिव सन्जिला कार्की ,कोषाध्यक्ष खुश्बु खातुन तथा सदस्यमा तीर्थबहादुर तामाङ, मनिका मगर , सरिष्मा मगरले उम्मेद्वारी दिएका छन् । त्यस्तै समानुपातिकतर्फ गंगाराम खड्का र मिनाकुमारी आचार्य सदस्यको उम्मेद्वार बनेका छन् ।
त्यस्तै राप्रविसंका तर्फबाट केशव खरेल अध्यक्षको उम्मेद्वार बनेका छन् । त्यस्तै सन्दिप अधिकारी सचिव , रामकृष्ण पौडेल कोषाध्यक्ष , सुदिप ढकाल सदस्यको उम्मेद्वार बनेका छन् । क्याम्पसले स्ववियू निर्वाचन गराउन प्राध्यापक कृष्ण दाहालको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । जसको सदस्यहरुमा भूपेन्द्र राउत र खेमबहादुर बस्नेत छन् ।

थोरै विद्यार्थी भएका कारण क्याम्पस प्रशासनले निर्वाचन नगराई सर्वसम्मत गराउने प्रयास गराएको थियो । तर बाहिरको राजनीतिक हस्तक्षेपका कारण सहमति जुट्न नसकेको क्याम्पस प्रमुख कृष्णप्रसाद पाठकले बताए । अहिले गरामनी क्याम्पस बिर्तामोडका राजनीतिक दलहरुको क्रीडास्थल बनेको छ । तीन वटा राजनीतिक दलका नेताहरु आ–आफ्ना उम्मेद्वार जिताउन लागिपरेका छन् ।
२०७० सालमा गरामनी क्याम्पस स्थापना भएको हो । व्यवस्थापन संकायको अध्यापन हुने त्यस क्याम्पसलाई व्यवस्थित रुपले संचालन गर्न नसक्दा वर्षेनि विद्यार्थी संख्या घट्दै गएको छ । सयभन्दा माथि रहेको विद्यार्थी संख्या घटेर ४० मा झरिसकेको छ । आवश्यक पूर्वाधार नभएको ,प्राध्यापकहरुले पारिश्रमिक नपाएको विद्यार्थी संख्या घट्दै गएकोजस्ता समस्यातर्फ अरुबेला वास्ता नगर्ने राजनीतिक दलहरुले स्ववियू निर्वाचनमा भने मरिहत्ते गरिरहेको एक प्राध्यापकले टिप्पणी गरेका छन् ।
-प्रतिदिनबाट