झापा । पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु र ५४ जनाको अङ्गभङ्ग भएको सुरक्षित आप्रवासन परियोजना (सामी) ले जनाएको छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरूको आश्रित परिवारको हितका लागि सामीले पुनःश्रम स्वीकृति, पारिवारिक स्वास्थ्य उपचार, बिरामीको अङ्गभङ्ग र मृत्यु भएकालाई आर्थिक सहायता, सन्तति छात्रवृतिलगायतमा सहयोग गरिरहेको छ ।
सामीका जिल्ला संयोजक शेखर बुढाथोकीका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा ४२ जना, गत आव २०८०/०८१ मा ८० जना र आव २०७९/८० मा ४४ जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ । चार वर्षमा अङ्गभङ्ग भएका ५४ जनामध्ये चालू आवको पुससम्ममा १० जना, गत आव २०८०/०८१ मा ३३ जना र आव २०७९/०८० मा ११ जना छन् ।

गत आव २०८०/०८१ मा झापाबाट छ हजार ५२८ जना महिलासहित ३४ हजार ३६२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । सोही आव २०८०/०८१ मा कोशी प्रदेशबाट एक लाख ६० हजार ६७२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।
मेचीनगरमा चालू आवमा ३१ वटा अभिमुखीकरण, वित्तीय साक्षरतालगायतका कार्यक्रम गरिएको छ । यस अवधिमा नगरपालिकास्थित वैदेशिक रोजगारीबाट फर्केका र उनीहरूका परिवार गरी एक हजार ६४६ जनाले सो परियोजनाको विभिन्न सेवा लिएको जनाइएको छ ।