घर फर्किने हवाई टिकट रद्द भएपछि इराकमै अस्ताइन् सुमिना

गैरकानुनी बाटो हुँदै इराक पुगेकी सिन्धुपाल्चोक घर भएकी सुमिना तामाङको मृत्यु भएको छ । २ वर्षअघि रोजगारीका लागि इराक पुगेकी सुमिना एउटा घरमा काम गर्दागर्दै भुइँमा ढलेकी थिइन् । त्यसपछि उनलाई तत्काल अस्पताल लागिएको थियो ।

उनी बिरामी भएको खबर पाएको दिनदेखि नै गैरआवासीय नेपाली संघ (एनआरएनए) इराक अध्यक्ष विनोद श्रेष्ठले नेपाल पठाउन प्रयास गरे तर सफल भएनन् । श्रेष्ठका अनुसार उनलाई नेपाल पठाउन नसक्नुको मुख्य कारण रोग र शारीरिक अवस्था थियो । सोही कारण एयरलाइन्सले दुई पटकसम्म स्वीकृत नै नगरेपछि हवाई टिकट रद्द भयो ।

तेस्रोपटक बुधबार मात्र सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाल पठाउन मिल्ने अवस्थामा इराक हेर्ने जिम्मेवारी पाएको कुवेतस्थित नेपाली दूतावासलाई पनि जानकारी भयो तर कुर्दिस्तानस्थित दुहोक सहरमा सुमिनाको मृत्यु हुन पुग्यो ।


‘मलाई १४ फेब्रअरीमै खबर आएको थियो, सुनिमाको स्वास्थ्य अवस्था अलिक नाजुक छ भनेर,’ गैरआवासीय नेपाली संघ ९एनआरएनए० इराक अध्यक्ष श्रेष्ठले राजधानीसँग भने, ‘घरमा काम गर्दागर्दै ढलेको र उपचार गर्दागर्दै थप जटिल भएपछि जानकारी आएको थियो, उनको परिवारसँग र दूतावाससँग पनि घर पठाउनका लागि सहजीकरण गर्दैगर्दा निधन हुन पुग्यो, हामी परिवारसँग माफी चाहन्छौं, हाम्रो प्रयास सफल हुन सकेन ।’

श्रेष्ठका अनुसार कम्पनीले नै नेपाल पठाउन दुईपटक विमानस्थल पुर्याएको र कुनै पनि कानुनी प्रक्रिया पूरा नगर्दा पठाउन नसकिएको हो । पछि एयरलाइन्स र चिकित्सकसँग कुरा गरेर सबै कागजी प्रक्रिया पुर्याएर पठाउन खोज्दा मृत्यु भएको थियो । अब उनको शव पठाउन करिब दुई महिना लाग्ने जनाइएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा बिचौलियालाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न संगठनले जनाउँदै आएका छन् । बिचौलियाले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायत मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करलाई फाइदा हुने गरेको छ ।

गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा अलपत्र पर्ने गरेको छ । कतिपयको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्नुपर्ने बाध्यता छ । -राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
83
सम्बन्धित

लोकप्रिय

लोकप्रिय